प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि बिहीबार स्थगित भएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय आज बस्दैछ।
बैठक बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि आज दिउँसो तीन बजेका लागि बैठक तय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए।
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपछि बिहीबार दिउँसो चार बजेका लागि डाकिएको बैठकको निरन्तरताकै रूपमा अहिले बिहानै ११ बजे नै बैठक बोलाइएको हो।
सचिवालय बैठक बस्नुअघि अहिले प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भइरहेको छ।
प्रधानमन्त्रीले शुक्रबार बिहान गृह जिल्ला झापाबाट आएका प्रतिनिधिहरूसँग पनि भेट्ने कार्यक्रम तय भएको छ।
‘हिजो धपेडी भएर प्रधानमन्त्रीज्यूलाई सामान्य ज्वरो आएको थियो, आराम गरेपछि ठीकठाक हुनुभएको छ, बिहानैदेखि छलफलमा सक्रिय हुनुहन्छ,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले सेतोपाटीसँग भने।
पार्टी एकीकरण प्रक्रियाको बाँकी काम टुंगो लगाउने विषयमा नेकपा दुई अध्यक्ष निरन्तर छलफलमा भए पनि सहमति भने हुन सकिरहेको छैन।