परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी हिंसा त्यागेर आए वार्ताका लागि सरकार तयार रहेको बताएका छन्।
उनले हिंसाले कसैलाई पनि फाइदा नगर्ने भएकोले विप्लवलाई हिंसा छाडेर वार्तामा आउन आग्रह गरेका हुन्। गुल्मी पुगेका ज्ञवालीले शनिबार पत्रकारहरूसँगको कुराकानीमा भने, ‘सरकारलाई हिंसा स्वीकार्य छैन। नागरिकको जीउधनको सुरक्षा गर्ने सरकारको दायित्वभित्र पर्छ।’
नागरिकमाथि कुनै पनि बाहनामा खेलवाड गर्ने अधिकार कसैलाई नभएको ज्ञवालीले बताए। ‘हिंसात्मक क्रियाकलाप त्यागे सरकार वार्तामा बस्न तयार नै छ,’ मन्त्री ज्ञवालीले भने, ‘हिंसा नछाड्ने हो भने वार्ताको औचित्य छैन। कार्यकर्ता छुटाउनका लागि वार्ता भनेर मात्रै हुँदैन।’