विधानबमोजिम प्रदेशहरूमा पार्टी संरचना गठन गर्न नसकेको नेपाली कांग्रेस प्रशिक्षणको कार्यक्रम लिएर प्रदेश गएको छ।
उपसभापति विमलेन्द्र निधि संयोजकत्वको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कार्यकर्तालाई थप क्रियाशील र क्षमतावान् बनाउन प्रशिक्षण सुरू गरेको हो।
शुक्रबार गण्डकी प्रदेशको पोखराबाट सुरू भएको कार्यक्रम सोमबारबाट प्रदेश नम्बर ५ को भैरहवामा चल्दैछ। कांग्रेसले सातै प्रदेशमा दुई दिनसम्म कार्यकर्तालाई प्रशिक्षण दिन लागेको हो।
प्रशिक्षणमा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र जिल्ला सभापतिलगायत सहभागी हुन्छन्।
प्रशिक्षण उद्घाटन गर्न सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता प्रदेश पुगेका छन्।
प्रशिक्षण कार्यक्रम मुख्य गरी गुटगट राजनीति र सरकारको आलोचना केन्द्रित छ।
भैरहवामा सुरू भएको प्रशिक्षणमा प्रतिनिधिमा कांग्रेस सचेतकसमेत रहेकी केन्द्रीय सदस्य पुष्पा भुसाल गौतमले कम्युनिष्टलाई सत्ताबाट हटाउन कांग्रेस एक हुनु पर्ने बताइन्।
संसदमा प्रमुख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले कम्युनिष्टको आलोचना गरे।
‘कांग्रेस र कम्युनिष्टबीच फरक छुट्टाउन सक्नुपर्छ,’ उनले भने, ‘कम्युनिष्टमा सहकार्यको भावना हुँदैन। एक्लै अघि बढ्ने प्रवृत्ति विश्वभरका कम्युनिष्टमा हुन्छ तर कांग्रेस सहकार्य गरेर अघि बढ्न चाहन्छ,’ उनले भने।
पार्टीमा १३ औं महाधिवेशनदेखि बेग्लै धार चलाउँदै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास हुनु पर्ने बताए।
‘पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास हुनु पर्ने हो,’ उनले भने, ‘पार्टीका नेता/कार्यकर्तामा नयाँ जोश, जाँगर र ऊर्जा चाहिएको छ।’ पार्टीभित्र ऊर्जा १४ औं महाधिवेशनबाट प्राप्त हुने उनले बताए।
‘ढिलोमा पनि अर्को फागुनभित्र महाधिवेशन होला, त्यसपछि पार्टीमा नयाँ ऊर्जा आउँनेछ,’ सिटौलाले भने, ‘यसबीचमा हामीले सांगठानिक संरचनालाई तलदेखि माथिसम्म निर्माण गरिसक्नुपर्नेछ।’
सबै एकजुट भएर सत्तासँग लड्नु पर्ने उनले बताए।
‘एक पल पनि अमूल्य छ। एक आपसमा मित्रता राखेर विचार, सिद्धान्त, व्यवहारले आमूल सुधार र परिवर्तनका साथ अघि बढ्ने बेला आएको छ,’ उनले भने, ‘यस्ता प्रशिक्षणहरूबाट कार्यकर्तामा नयाँ युगको नयाँ कांग्रेस बनाउने प्रेरणा आउँछ भन्ने विश्वास छ।’
उपसभापति विजयकुमार गच्छदारले भावनात्मक कुरा गरे। ‘सुतेर बसेको जय नेपाललाई अब उत्साह भर्ने बेला भएको छ,’ उनले भने, ‘दश वर्ष जय नेपाल (कांग्रेस) छाडेर अन्यत्रै गए पनि मेरो हातमा जय नेपाल मरेको थिएन। कांग्रेसका साथीहरू भेट्दा जय नेपाल भन्नुहुन्थ्यो मैले पनि जय नेपाल भन्थें।’
डेढ वर्षअघि भएको निर्वाचनमा फोरम लोकतान्त्रिकलाई कांग्रेसमा समाहित गरेका गच्छदारले पार्टीभित्र वृहत एकताको आवश्यता रहेको बताए।
‘केन्द्रदेखि वडासम्म झगडा होइन एकता चाहिएको छ,’ उनले भने, ‘कम्युनिष्टसँग मुक्काबिला गर्ने चुनौती हामीसामु छ।’
सशक्त हुँदै गएको कम्युनिष्टसँग मुकाबिला गर्न प्रशिक्षण चाहिएको उनले बताए।
उनले महाधिवेशनबाट जोसुकै नेता सभापति भएर आए पनि पार्टीलाई एक नम्बरको बनाउने संकल्प चाहिएको बताए।
‘जो सभापति बने पनि पहिलो पार्टी बन्ने अठोट र संकल्प बोकेर आउनुपर्छ,’ उनले भने, ‘अर्को चुनावमा कांग्रेस पहिलो पार्टी बन्नुपर्छ।’
अर्का उपसभापति निधिले नेता/कार्यकर्तालाई पुर्नताजगीका लागि प्रशिक्षण आयोजना गरिएको बताएका थिए।
बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकन चाहिएको बताए।
‘न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकन पार्टीका मूल आधार हुन्,’ पौडेलले भने।
जनताले अनुभुत गर्न चाहेकोजस्तो पार्टी बनाउनुपर्ने उनले बताए।
‘जनताको कुरा सुन्ने भरोसा र आधारको केन्द्र भएको पार्टी बनाउने आजको चुनौती हो,’ पौडेलले भने, ‘कांग्रेसमा धेरै जिम्मेवारी र दायित्व छ। साना पक्ष र विपक्षमा उभिएर, देउवा र पौडेल भनेर साथीहरू नअल्झनुस्।’
पौडेलले गुटबन्दी छाड्न नेता/कार्यकर्तालाई आग्रह गरेका छन्।
‘गुटका नेता होइन सिंगो कांग्रेसको नेता बन्नुस्,’ उनले भने, ‘कम्युनिष्टसँग राष्ट्र निर्माणको खाका रहेनछ। आजको आवश्यकता के हो भन्ने थाहा रहेनछ। दृष्ट्रिकोण भएको पार्टी कांग्रेस नै हो।’
पौडेलले अनुशासन समितिबारे पनि प्रश्न उठाए।
‘अनुशासन कार्यकर्तालाई मात्रै हो कि आफ्नालाई पनि हो?,’ सभापति देउवालाई लक्षित गर्दै पौडेलले भने, ‘सानालाई ऐन ठूलालाई चैन भनेजस्तो त होइन होला।’
सभापति देउवाविरूद्ध पनि अनुशासन समितिमा उजुरी परेको छ तर यसबारे कुनै छलफल भएको छैन।
कार्यक्रमको अन्तिममा बोलेका सभापति देउवाले सुरूमै पौडेललाई व्यंग्य गरे।
‘रामचन्द्रजीले पार्टीभित्र पारदर्शिता भएन भन्नुभयो। केन्द्रीय समिति बैठकमा नबोलेर साथीहरू बाहिर बोल्दै हिँड्नुहुन्छ,’ देउवाले भने, ‘अरू पार्टीमा भित्र झगडा हुन्छ, बाहिर केही बोल्दैनन्।’
सभापति देउवाले पार्टीभित्र एक भएर नगए चुनाव जित्न कठिन हुने बताए।
‘पार्टी एक भएन भने चुनावहरू जित्दैन, कुनै हालतमा जित्दैन,’ उनले भने, ‘सबै एकजुट भएर पार्टी बलियो बनाउन लाग्नुपर्यो।’
सरकार प्रजातन्त्रको खिलापमा लागेको भन्दै देउवाले आलोचना गरेका थिए।