कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही एक साता कालिकोट बसे। उनी मंगलबार प्रदेश राजधानी सुर्खेत फर्कंदैछन्।
डेढ वर्षअघि कालिकोटबाट प्रदेश सभा चुनाव जितेर मुख्यमन्त्री बनेका उनी यति लामो समय जिल्ला बसेका थिएनन्। यसपटक सदरमुकामदेखि गाउँ-गाउँ पुगेर शाहीले जिल्लाको समग्र अवस्थाको जानकारी लिए।
मुख्यमन्त्री बनेपछि हेलिकप्टर धेरै चढेको भनेर शाहीले आलोचना पनि खेपेका थिए। यसपालि भने शाही गृहजिल्ला कालिकोटका अधिकांश ठाउँ हिँडेरै पुगे भने केही ठाउँमा मोटरसाइकल र गाडी पनि चढे।
कच्ची बाटोमा मुख्यमन्त्रीले मोटरसाइकल हाँकेको फोटो सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
मंगलबार दिउँसो सेतोपाटीले कालिकोट भ्रमणबारे कुराकानीका लागि सम्पर्क गर्दा मुख्यमन्त्री शाही यात्रु बोकेको बस धकेल्दै थिए।
‘घट्टेखोलाको बाटोमा गाडी फसेको रहेछ,’ शाहीले सेतोपाटीसँग भने, ‘फसेको गाडी धकलेर निकालियो।’
यही बेला यात्रुले पनि मुख्यमन्त्रीलाई व्यंग्य गर्न भ्याए।
‘गाडी धकलेर निकालेपछि प्यासेन्जरहरू खुसी भए,’ उनले भने, ‘मुख्यमन्त्रीले धकलेपछि मात्रै गाडी निस्कियो भनेर मलाई व्यंग्य पनि गरे।’
कालिकोट र दैलेख हुँदै उनी सुर्खेत फर्कंदै छन्।
‘अहिले म बस ठेल्दै छु। कच्ची बाटो भएकोले हिलोमा बस फस्यो। म धेरैजसो ठाउँ हिँडेरै पुगेँ। ठाउँठाउँमा जीप चढेँ। एक दिन ४० किलोमिटर मोटरसाइकलमै यात्रा गर्नुपर्यो,’ शाहीले भने।
उनले जिल्लाको विकास निर्माण, जनताको अपेक्षा, सुरक्षा अवस्थालगायतको अनुगमन पनि गरेको जानकारी दिए।
‘बर्खाको बेला जताजतै पानीको छाँगो, हरियाली असाध्यै रमाइलो भयो,’ उनले भने, ‘बर्खाको बेला पानी परिराखेको छ। यस्तो बेला भेट्न आएकोमा जनता खुसी भए।’
शाहीले जनताका अपेक्षा बुझ्न घरदैलो, सभा गरेको बताए। पार्टी कार्यकर्ता, सहिद परिवारलाई पनि भेटेको उनले सुनाए।
‘प्रदेश सरकारले गरेका विकास निर्माणका कामको अनुगमन पनि गरेँ,’ उनले भने, ‘जनताको माग खासै केही रहेनछ।’
जनताले आफूसँगको भेटमा कालिकोटको अवस्थाबारे जानकार नै भएकोले विकास गर्ने विश्वास लिएको शाहीले बताए।
‘मुख्यमन्त्रीलाई भेट्न पायौं भनेर जनता खुसी देखिए,’ उनले भने, ‘तपाईंकै आँखाले देख्नुभएको छ विकास गर्नुहुन्छ भन्ने आशा गरेका छौं भनेर जनताले मलाई भने।’
चुनावका बेला हिँडेरै गाउँ पुगेर भोट मागेको बताएका शाहीले अहिले ती ठाउँमा सडक र गाडी चलेको पनि बताए।
‘म पहिले हिँडेर गएको ठाउँमा अहिले बस चल्छ। विकास त भएकै छ,’ उनले भने।
आफू ऊर्जा मन्त्री हुँदा नै कालिकोटमा राष्ट्रिय प्रसारण लाइनका लागि काम गरेको बताएका उनले सबै गाउँमा बिजुली पुर्याउने काम भइराखेको बताए।
शाही नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा ऊर्जा मन्त्री थिए। मुख्यमन्त्रीले जनताका गुनासा सुन्न ‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’ कार्यक्रम पनि सुरू गरेको छ।
‘कालिकोटबाट नै यो कार्यक्रमको सुरूवात गरियो। स्थानीय खस भाषा संरक्षण र प्रवर्द्धन गर्न यो कार्यक्रम ल्याएको हो,’ उनले भने।
गाउँमा वृद्धवृद्धा समस्यामा रहेको उनले सुनाए।
‘एकजना बा गुनासो गर्दै हुनुहुन्थ्यो, छोराबुहारी छुट्टिएर बसे। घरमा बूढाबूढीमात्रै भयौं कसरी बाँच्ने?,’ शाहीले भने, ‘चिन्ता नगर्नुस् बा सरकार छ भनेर आएको छु।’
उनले बेसाहारा वृद्धवृद्धालाई छाना, नाना र खानाको व्यवस्था प्रदेश सरकारले गर्ने बताए।
‘खान समस्या छ। मानिसहरू लुगा लगाउन पाएका छैनन्। खरको छानाका घर छन्, पानी पर्दा चुहिन्छ,’ उनले भने, ‘सरकारको प्राथमिकता खाना, नाना र छानामा छ।’
उनले कृषिजन्य वस्तु उत्पादन वृद्धिका लागि सरकारले काम गर्ने बताए।