प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरू भएको छ।
केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि पहिलोपटक मंगलबार अपरान्ह सर्वदलीय बैठक डाकेका हुन्। बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेता सहभागी छन्।
संक्रमणकालीन न्याय निरूपणसम्बन्धी अल्झिएको विषयका गाँठो फुकाउनका लागि प्रधानमन्त्रीले बैठक डाकेका हुन्।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरू सहभागी छन्।
प्रतिनिधिसभामा नेकपा, कांग्रेस, समाजवादी पार्टी नेपाल र राजपाले प्रतिनिधित्व गर्छन्।
बैठकमा प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, बाबुराम भट्टराई सहभागी छन्।
नेकपाका शीर्ष नेतामध्ये माधवकुमार नेपाल सहभागी छैनन्।
बैठकमा गृहमन्त्री रामबहादुर थापा, कानुन मन्त्री भानुभक्त ढकाल पनि सहभागी छन्।
कांग्रेसबाट उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरू बालकृष्ण खाँण, मीनेन्द्र रिजाल सहभागी छन्।
नेकपाबाट बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल उपस्थित छन्।
उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राजपा नेता महन्थ ठाकुर र अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवलगायत पनि बैठकमा सहभागी छन्।