प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई ‘समृद्ध नेपाल,सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज भएको बताएका छन्।
संविधान दिवस/राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री ओलीले संविधान ल्याउनका लागि अग्रजहरूको संघर्ष र बलिदानको महत्वपूर्ण देन रहेको बताए।
‘जीउ ज्यानको मात्र बलिदानी हैन अन्य थुप्रै प्रकारका बलिदानीको योग हो संविधान’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले कष्टपूर्ण दिन बिताएर र अनेक अवरोध छिचोलेर यो संविधान प्राप्त गरेका हौं। त्यसकारण यसको संरक्षण कार्यान्वयन गर्ने जिम्मा हाम्रो हो।’
प्रधानमन्त्री ओलीले संविधानले बृहत्तर राष्ट्रिय हितलाई समेटेको बताए।
‘संविधान सहमतिको दस्तावेज हो। यसले हरेक व्यक्तिका आकांक्षालाई जस्ताको तस्तै पूरा गर्दैन तर बृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘संविधानले नेपालको गौरवपूर्ण परम्परा र समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई समेटेको छ।’
प्रधानमन्त्री ओलीले संविधान दिवस नेपाली जनताको उत्सवको दिवस भएकोले यसलाई राष्ट्रिय दिवसको रूपमा समेत मनाइएको बताए।
‘संविधान दिवसलाई भव्यता र व्यापकताका साथ मनाउनु पर्दछ’प्रधानमन्त्री ओलीले भने ‘यो नेपालका सबै दिवस भन्दा ठूलो दिवस हो। यसले वर्ग वा समुदायलाई मात्र हैन देशका सम्पूर्ण बासिन्दालाई समेट्ने भएकोले यसलाई व्यापक रूपमा मनाउनु पर्दछ। घरघरमा दिपावली मनाउनु पर्दछ।’
संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानले हाम्रो गौरवपूर्ण परम्परा,वर्तमान नेपालको अवस्था र भावी नेपालको मार्गदिशा तय गरेको बताए।