प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताएका छन्।
संविधान दिवस/राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘केहीले मरिहालोस् भनेका छन् तर म अझै १५ वर्ष अखडामै हुन्छु। विरोधीहरू अर्को चुनावमा अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ।’
उनले आफू बिहीबार उपचारका लागि सिंगापुर जान लागेको र आफूलाई अहिलेनै केही पनि नहुने बताए।
कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न कष्टसहित बनाएको संविधानको रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए।
‘हामीले कष्टपूर्ण दिन बिताएर र अनेक अवरोध छिचोलेर यो संविधान प्राप्त गरेका हौं। त्यसकारण यसको संरक्षण कार्यान्वयन गर्ने जिम्मा हाम्रो हो,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले यसपालिको संविधानलाई उत्सवमय बनाउनुपर्ने बताए।
उनले आफू सिंगापुरबाट फर्किएर भव्यता र व्यापक तयारीसहित मनाउनेगरी संविधान दिवसको तयारी थाल्न पनि आग्रह गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान दिवस अरु दिवसभन्दा महत्वपूर्ण भएकाले भव्यता र व्यापकताका साथ मनाउनुपर्ने धारणा राखे।
‘यसले वर्ग वा समुदायलाई मात्र हैन देशका सम्पूर्ण बासिन्दालाई समेट्ने भएकोले यसलाई व्यापक रूपमा मनाउनु पर्दछ। घरघरमा दिपावली मनाउनु पर्दछ,’ ओलीले भने।
संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएपछि नेपालमा संविधान दिवस मनाउन थालिएको छ।