नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले दुई तिहाइ बहुमतको चरम दुरूपयोग गरेको टिप्पणी गरेका छन्।
महाधिवेशन प्रतिनिधिहरूका लागि सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
नेता पौडेलले वर्तमान सरकारले सार्वजनिक निकाय, अख्तियारलाई दबाब दिने, प्रेस स्वतन्त्रतालाई कब्जा गर्न खोज्ने जस्ता कार्यमा बहुमतको प्रयोग गर्ने गरेको टिप्पणी गरे।
‘कम्युनिष्टले सत्ता प्राप्त गरे पनि सञ्चालन गर्न सकेको छैन, दुई तिहाइ बहुमतको चरम दुरूपयोग गर्ने गरेको छ,’ पौडेलले भने, ‘कहिले सार्वजनिक निकाय, कहिले अख्तियारलाई दबाब दिने कुरामा त कहिले प्रेसको मुख थुन्ने प्रयासमा बहुमत प्रयोग गरिएको छ।’
कम्युनिष्टले देशमा बेचैनी अवस्था सिर्जना गरेको आरोप लगाउँदै उनले पछिल्लो समय जनताले कम्युनिष्टको विश्वास गर्न छोडेको बताए।
उनले अब जनताले नेपाली कांग्रेसलाई नै भरोसा गर्ने समय फर्किसकेको दाबी समेत गरे।
‘सरकारमा प्रजातान्त्रिक सोच हुनुपर्ने हो, त्यो भएन,’ नेता पौडेलले भने, ‘सरकारले सबैलाई न्याय दिनुपर्ने हो। तर प्रतिपक्षीलाई दबाउने, जनतालाई न्याय दिने कुरामा नसोचेर यो सरकार अधिनायकवादी भइसकेको छ।’
नेपालमा राजतन्त्र फर्किने कुरा असम्भव भएको पौडेलको भनाइ छ।
‘देशमा राजतन्त्र आउनु भनेको पृथ्वी पल्टिनु हो, पृथ्वी पल्टिन सक्दैन, ’ उनले भने।
कांग्रेसका उपसभापति विमलेन्द्र निधिले व्यक्तिभन्दा पनि विचारको पछि सबै कार्यकर्ता लागेर पार्टीभित्रको गुट अन्त्यमा भूमिका खेल्नुपर्ने औंल्याए।
वर्तमान सरकारले अलोकतान्त्रिक चरित्र प्रस्तुत गरिरहेको निधिले आरोप लगाए।