तत्कालीन एमाले सांसद डोलबहादुर कार्की(डिबी) लाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले कार्कीलाई बिहीबार बिहान कलंकीबाट पक्राउ गरेको हो।
‘इन्स्पेक्टर बनाइदिने’ भन्दै घूस लिएको अभियोगमा उनीविरूद्ध सर्वोच्च अदालतले ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।
‘कार्कीलाई कलंकीबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले भने।
कार्की २०६७ भदौमा चार लाख घूस रकमसहित पक्राउ परी धरौटीमा छुटेका थिए।
सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उनी फरार भएका थिए।
पहिलो संविधानसभा चुनावमा लमजुङबाट तत्कालीन नेकपा एमालेबाट उनी समानुपातिक सभासद चुनिएका थिए।
कार्की नेकपा नेता बामदेव गौतम निकट मानिन्थे।
कार्की नेकपाको भ्रातृ संगठन अखिल नेपाल किसान महासंघको कार्यालय सचिव हुन्। गौतमले दुई साताअघि मात्रै महासंघको अध्यक्ष छाडेका हुन्। नेकपा सचिवालयले गौतमलाई पार्टीका उपाध्यक्ष बनाउने प्रस्ताव सर्वसम्मत परित गरेपछि उनले महासंघकाे अध्यक्षकाे जिम्मेवारी छाडेका थिए।
कार्कीको स्याङ्जा जिल्ला साबिक टकसार गाविस वडा नं. ६ स्थायी हो। उनी हाल काठमाडौं-१४ कलंकी डेरा गरी बस्दै आएका थिए।
४८ वर्षीय कार्कीले २०६७ भदौ १४ गते राजकुमार राईलाई नेपाल प्रहरीको प्रहरी निरीक्षकको नोकरी लगाइदिने बहानामा पटक-पटक गरेर चार लाख पाँच हजार लिएको ब्युरोले जनाएको छ।
उक्त रकममध्ये दुई लाख पाँच हजार मुद्दाका अर्का प्रतिवादी स्वामी ब्रम्हानन्द उदासिनले लिएका थिए।
विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(ग) बमोजिम जनही ४/४ महिना कैद र बिगो बमोजिम एक/एक लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो। कार्कीलाई विशेषले संविधानसभा तथा व्यवस्थापिका संसदको सभासद पदमा रहेकाले थप दुई महिना कैद सजायसमेत सुनाएको थियो।
फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएका कार्कीलाई कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजारमा पठाइएको छ।