नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान घोषणा गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरेर प्रवक्ता विश्वप्रकाश शर्माले भदौ २४ गतेदेखि असोज ७ गतेसम्म चल्ने दोस्रो चरणको हिमाल, पहाड, तराई लक्षित जागरण अभियान घोषणा गरेका हुन्।
वीपीको १०६ औं जन्मजयन्ति पारेर कांग्रेसले दोस्रो चरणको अभियान सुरू गर्न लागेको हो। ‘वीपीको १०६ औं जन्मजयन्तिको प्रतिक स्वरूप हरेक निर्वाचन क्षेत्रमा १०६ वटा विरूवा रोप्ने कार्यक्रम तय भएको छ,’ शर्माले भने, ‘तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा एकै दिन ३४ हजार नौ सय वटा विरूवा रोप्छौं।’
कांग्रेसले पर्यावरणका लागि पार्टीबाट योगदान गर्नका लागि भन्दै वृक्षारोपण गर्न लागेको हो। वृक्षारोपण गर्दा पिपल, समीलगायत विरूवा रोप्नुपर्नेछ। साथै विरूवा गोडमेल, घेराबारजस्ता काम पनि हुने शर्माले बताए।