प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा अन्तर्गत रहेको विकास तथा प्रविधि समिति छाडेका छन्।
अबदेखि देउवा कानुन, न्याय तथा मानव अधिकार समितिमा सहभागी हुने भएका हुन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले सांसदहरूको समिति हेरफेर भएको घोषणा गरेकी थिइन्।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित प्रतिनिधिसभा अन्तर्गतका समितिमा सांसदहरूको नाम हेरफेर गर्न सभाको सहमतिका लागि उनले प्रस्ताव गरेकी थिइन्।
जसअनुसार शेरबहादुर देउवा विकास तथा प्रविधि समितिबाट कानुन न्याय तथा मानवअधिकार समितिमा सहभागी हुनेछन्।
सांसद सञ्जयकुमार गौतम कानुन न्याय तथा मानव अधिकार समितिबाट विकास तथा प्रविधि समितिमा गएका छन्।
सांसद स्मृति नारायण चौधरी कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट कानुन, न्याय तथा मानव अधिकार समिति, सांसद देवप्रसाद तिमिल्सिना कानुन न्याय तथा मानवअधिकार समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा सहभागी हुनेछन्।
सांसद महेन्द्र कुमरी लिम्बू कानुन न्याय तथा मानवअधिकार समितिबाट महिला तथा सामाजिक समितिमा, सांसद कर्मा घले महिला तथा सामाजिक समितिबाट कानुन न्याय तथा मानवअधिकार समितिमा सहभागी हुनेछन्।
सांसदहरूले विकास समिति हेरफेर गरेको प्रस्तावलाई सदनले सहमति जनाएको उनले घोषणा गरिन्।