नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाका दुई वटा शालिक स्थापना गरिएको छ।
वीपीको १०६औं जन्म जयन्तीको पूर्व सन्ध्यामा सोमबार दाङका प्रमुख सहरहरु तुलसीपुर र घोराहीमा एक/एक वटा शालिक स्थापना गरिएको छ। दुबै शालिक पूर्ण कदका छन्।
तुलसीपुरमा रहेको यसअघिको अर्धकद शालिक हटाएर पूर्ण कदको सालिक स्थापना गरिएको हो भने घोराहीमा भने नयाँ शालिक स्थपाना गरिएको हो। यी दुबै शालिकको अनावरण गर्न पार्टी सभापति शेरबहादुर देउवा दाङ आउन लागेको पार्टीका जिल्ला सभापति कीर्तिबहादुर खड्काले बताए।
देउवाले २७ गते घोराहीमा र २८ गते तुलसीपुरमा वीपीको शालिक अनावरण गर्ने कार्यक्रम तय भएको खड्काले बताए। तुलसीपुरको शालिक स्थापना गर्न झन्डै ७ लाख खर्च लागेको कांग्रेस क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काले बताए। तर घोराहीमा भने पहिलो पटक वीपीको शालिक स्थापना गरिएको हुँदा थप केही खर्च भएको छ।
कांग्रेस दाङ क्षेत्र नं. २ का सभापति भूपबहादुर डाँगीले सो शालिक निर्माण गर्न १६ लाख जति खर्च भएको हुन सक्ने अनुमान गरे। नेपाली कांग्रेसले वीपी जयन्तीको अवसर पारेर सोमबारदेखि नै दोस्रो चरणको जनजागरण कार्यक्रम सुरु गर्न लागेको छ।