नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य बामदेव गौतम बिरामी परेका छन्।
केही दिनदेखि ज्वरो आउने भएपछि उनी सोमबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा जचाउन गएका थिए।
उनको रगत परीक्षणको रिपोर्ट आउन बाँकी छ। गौतमलाई डेंगी भएको हुन सक्ने आशंका गरिएको छ।
गौतमनिकट स्रोतका अनुसार बिरामी परेपछि उनी भैंसेपाटीस्थित निवासमा आराम गरिरहेका छन्।
घरमा बसे पनि उनी चिकित्सकको निगरानीमा रहेको स्रोतले बतायो।
पछिल्लो समय डेंगी देशैभरि फैलिएको छ। यो रोगले छ जनाको ज्यान गइसकेको छ भने ४ हजारभन्दा बढी बिरामी छन्।
कृषि मन्त्री चक्रपाणि खनाल, तिलगंगा आँखा केन्द्रका निर्देशक डाक्टर सन्दुक रूइत, गण्डकी प्रदेशका नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीलाई डेंगी भएको थियो।