प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगी रोक्न नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेको छ।
बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद सञ्जयकुमार गौतमले डेंगी संक्रमणले मुलुक आक्रान्त तथा आतंकित भए पनि सरकार मौन बसेको आरोप लगाए।
‘प्रधानमन्त्रीज्यू स्वदेश फर्किसक्नुभयो, स्वास्थ्य मन्त्री कता हुनुहुन्छ,’ उनले भने, ‘मुलुक डेंगीले आतंकित छ। संकटकाल घोषणा गर्ने बेला भइसक्यो। सरकार कुम्भकर्णको निन्द्रामा सुतेको छ।’
सदनमा रूलिङ र सत्तापक्ष सांसदले विरोध गरेर मात्रै डेंगी संक्रमण नियन्त्रणमा आउन नसक्ने उनले बताए।
‘सदनमा विरोध र आक्रोश छ। रूटिङ मात्रै गरेर हुँदैन सभामुख महोदय,’ उनले भने, ‘स्वास्थ्य मन्त्री कहाँ हुनुहुन्छ? स्वास्थ्य मन्त्रीको राजीनामा माग गर्छु, सरकार दर्शक बनेर हुँदैन।’
उनले मन्त्री, सांसद, स्वास्थ्यकर्मी र ५८ जिल्लाका जनता डेंगीबाट पीडित हुँदा पनि सरकार मौन रहेको बताए।
‘देश आक्रान्त छ, सरकार मौन छ। तत्काल स्वास्थ्य मन्त्रीको राजीनामा माग गर्छु,’ उनले भने, ‘स्वास्थ्यको जिम्मा लिएर बस्नुभएका मन्त्रीजी कहाँ हुनुहुन्छ?’ दुई तिहाइ समर्थनप्राप्त सरकारले सुशासन दिन नसकेको पनि उनले आरोप लगाए।