सञ्चारमन्त्री गोकुल बाँस्कोटाले फिल्म हलमा राष्ट्र गान बजाउने विषयमा कुनै निर्णय नभएको बताएका छन्। फिल्मबारे आफ्नो मन्त्रालय नै सम्बन्धित भएपनि कुनै जानकारी नभएको उनले बताए।
‘फिल्म हलमा राष्ट्रिय गान बजाउने भन्ने कुरा मैले पनि सुनेको छु। तर मलाइ थाहा भएन’, बाँस्कोटाले भने, ‘पहिला पहिला त मान्छे भन्थे हावा नचली पात हल्लिन भन्ने सुनिन्थ्यो। अहिले हावा नचली पात हल्लिएको देखेर कुन युग हो भन्ने प्रश्न गर्न मन लागेको छ।’
उनले अहिले चलचित्रसँग सम्बन्धित नयाँ कानुनको ड्राफ्ट भैराखेको बताए। उनले राष्ट्रिय गानको विषयमा कानुनी प्रबन्ध अनुसार अगाडि बढ्ने बताए। उनले कानुन नै ड्राफ्ट नगरी कहाँबाट हल्ला चल्यो भन्ने विषयमा जानकारी नभएको बताए।
मन्त्री बाँस्कोटाले राष्ट्रिय गानको विषयमा विवाद खडा गरिएकोमा असन्तुष्टि व्यक्त गरे। उनले स्वभाविक लाग्ने ठाउँमा मात्र राष्ट्रिय गान बज्ने बताए।
‘राष्ट्रिय गानमा नउभिने नेपाली हुन सक्दैन भनेर शारीरिक फरकपन भएको साथीहरुको गुनासो मैले सुनेँ’ बाँस्कोटाले भने, ‘भन्दै नभनेको कुरा... कुन फोबियाले काम गर्दैछ। क्रमश समाप्त हुन्छ।’