गृहमन्त्री रामबहादुर थापा बादलले नेपाली कांग्रेस बाँके सभापति किरण कोइरालामाथि भएको आक्रमणमा संलग्न रहेकालाई सरकारले कारबाही प्रक्रिया सुरू गरिसकेको बताएका छन्।
गत बिहीबार बाँके खजुरा गाउँपालिकामा कांग्रेसले आयोजना गरेको राष्ट्रिय जागरण अभियानका क्रममा नेकपा कार्यकर्ताले सभापति कोइरालाको हात भाँचिदिएका थिए।
उक्त घटनाको बारेमा सदनलाई आइतबार जानकारी गराउँदै गृहमन्त्री थापाले घटनालाई राजनीतिकरण नगर्न प्रतिपक्षी दल कांग्रेसलाई आग्रह गरेका हुन्। ‘सरकारले दोषीलाई कारबाही प्रक्रिया अघि बढाइसकेको छ,’ उनले भने, ‘जो सुकै होस् कानुन मिच्ने र शान्ति सुरक्षामा खलल पुर्याउनेविरूद्ध कारबाही हुन्छ।’
गृहमन्त्री थापाले दोषीमाथि कारबाही गर्न सरकार दृढ रहेको पनि बताए।
तर कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सत्तारूढ नेकपाले नै घटनालाई राजनीतिकरण गरेको र घटनाका दोषीविरूद्ध दिइएको जाहेरी प्रहरीले लिन नमानेको पनि बताए।