आफूलाई भ्रष्टाचारविरोधी नागरिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीलाई प्रहरीले पुल्चोकबाट नियन्त्रणमा लिएको छ।
पुल्चोकमा उनले आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यार्थीहरूले हुलहुज्जत गरेपछि सुरक्षाका लागि शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार पत्रकार र शाहीबीच झडपको स्थिति बन्न लागेपछि शाहीलाई सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो।
शनिबार साँझ नेपालगन्जबाट काठमाडौं आउने क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई शाहीलगायतका यात्रुले नेपालगन्ज विमानस्थलमा जहाज कुराएको भन्दै आक्रोश पोखेका थिए।
त्यसै घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शाही र प्रश्न सोध्ने युट्युबरहरूबीच विवाद बढ्दै जाँदा युट्युबर/विद्यार्थीहरू शाहीमाथि खनिएका थिए।
शाहीले आइतबार दिउँसो पत्रकार सम्मेलन राखेका थिए। शनिबार नेपालगञ्जबाट बुद्ध एअरको जहाज मन्त्री योगेश भट्टराईलाई कुर्न एक घन्टा ढिलो उडेपछिको विषयमा आफ्ना तर्फबाट थप कुराहरू राख्न उनले पत्रकार सम्मेलन आयोजना गरेका थिए।
तर पत्रकार सम्मेलन सुरू हुनुअघि नै प्रहरीहरू पत्रकार सम्मेलन आयोजना गरेको घर छेउ पुग्छन्। केहीबेर त्यहाँ बसेर उनीहरू जान्छन्। त्यसलगत्तै शाहीले पत्रकार सम्मेलन सुरू गर्छन्। उनले सुरूमै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पारसको नाम जोडेर हुँदै नभएको झुठ बोलेको बताउँछन्।
पत्रकार सम्मेलन युट्युबरहरूले भरिभराउ थियो। यत्तिकैमा प्रश्न सुरू र जवाफ सुरू भयो।
ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा उठेका प्रश्न र जवाफ:
प्रश्न- तपाईंलाई रअको एजेन्ट भन्छन् नि!
ज्ञानेन्द्र शाही: कसले भन्यो त्यसलाई गएर सोध्नुस्।
खैला बैला लामै समय चल्छ। उपस्थितहरूले एकोहोरो प्रश्न मात्रै गर्छन्।
प्रश्न: तपाईंको नाम के हो?
ज्ञानेन्द्र शाही: ज्ञानबहादुर शाही।
प्रश्न: अनि ज्ञानेन्द्र किन राख्नुभयो?
ज्ञानेन्द्र शाही: प्रचण्डको नाम के हो नि!
प्रश्न: भ्रष्टाचार अभियानमा हिँड्नुहुन्छ। सुरेन्द्र भण्डारीसहित तपाईंहरू जहाज चढ्ने पैसा कताबाट आयो?
ज्ञानेन्द्र शाही: तपाईं कुन पत्रिकाको पत्रकार?
प्रश्नकर्ता: म पत्रकार होइन विद्यार्थी हुँ।
यत्तिकैमा प्रहरीहरू पत्रकार सम्मेलन स्थल पुग्छन्। हो-हल्लाबीच प्रहरीले शाहीलाई नियन्त्रणमा लिन्छ।
उनलाई अहिले महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएको छ।