बहुविवाह गरेको अभियोगमा गत सातादेखि प्रहरी हिरासतमा रहेका गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरी थुनामुक्त भएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालय प्युठानले पर्याप्त प्रमाण नपुगेको भन्दै हाजिर जमानीमा गिरीलाई आइतबार रिहा गर्ने आदेश दिएको हो। तर अन्तिम निर्णयको लागि यो मुद्दा उच्च सरकारी वकिल कार्यालयकहाँ पठाइने कार्यालयले जनाएको छ।
‘संकलित प्रमाणहरू हेर्दा बहुविवाह गरेको देखिएन,’ निमित्त जिल्ला न्यायाधीवक्ता शिव आचार्यले भने,’ मुद्दाको अन्तिम किनारा लागिसकेको छैन।’
जिल्लाले गरेको निर्णयमा महान्यायाधीवक्ताको कार्यालयलाई चित्त नबुझे पुनः मुद्दा चल्नेछ।
गिरीविरूद्ध लागेको मुद्दा उच्च सरकारी वकिल कार्यालयले चेकजाँच गरेपछि महान्यायाधीवक्ताको कार्यालयमा पुग्छ।
बहुविवाह अभियोगको अनुसन्धान गरिरहेको प्युठान प्रहरीले सरकारी वकिल कार्यालयको आदेशले प्रतिवादी गिरी र आरोपित महिलालाई हिरासतमुक्त गरिएको बताएको छ।
यद्यपी अनुसन्धान प्रक्रिया जारी नै रहने प्युठान प्रहरी प्रमुख नरेन्द्र कार्कीले बताए।
परस्त्रीसँग गरेको कुराकानी र दुवैजनाका अर्धनग्न अवस्थामा कोठामा सुतेका तस्वीरलाई आधार बनाएर श्रीमती सीता केसीले हुलाकमार्फत् भदौ १० गते प्रहरी कार्यालयमा उजुरी गरेपछि विष्णु गिरीमाथि प्रहरीले उक्त अनुसन्धान सुरू गरेको थियो।
गिरी र आरोपित महिलालाई प्युठान प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो। गिरीले बहुविवाहको आरोप अस्वीकार गरेका थिए।
गिरी २०७४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट गौमुखी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
उनी नेपाली काङ्ग्रेस प्युठानका सचिव समेत हुन्।