सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान लोकतान्त्रिक गणतन्त्रविरूद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गरे।
पार्टी कार्यालय धुम्बाराहीमा स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृति सभामा प्रचण्डले यस्तो आग्रह गर्नुअघि नै नेकपाको भातृ संगठनले आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीलाई प्रतिबन्ध लगाइसकेको थियो।
कास्कीको राष्ट्रिय युवा संघले आइतबार विज्ञप्ति जारी गर्दै ‘गलत अभियान’मा लागेको भन्दै शाहीलाई कास्की जिल्लामा प्रवेश गर्न नदिने घोषणा गरेको छ।
‘सामाजिक सञ्जालहरूको दुरूपयोग गरी समाजमा भ्रम श्रृजना गर्ने, द्वन्द्व सिर्जना गर्न उकास्ने, पछिल्ला उपलब्धि र परिवर्तनको विरोधी तत्वहरू प्रायोजित तथा सञ्चालित छन्,’ युवा संघको विज्ञप्तिमा भनिएको छ,‘पछिल्लो समयमा यस्ता गलत अभियानमा संलग्न ज्ञानेन्द्र बहादुर शाही (ज्ञानेन्द्र शाही) जस्ता कुपात्रलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गर्ने जानकारी गराउँदै आमजनसमुदायलाई विधिको शासन पछिल्लो परिवर्तन तथा उपलब्धिको पक्षमा उभिएर सहयोग गरिदिनु हुन अपिल गर्छौं।’
प्रतिगामी तत्वहरूको विरूद्ध आवश्यकता अनुसार प्रतिरोधी कार्यक्रम सञ्चालन गर्ने चेतावनी युवा संघले दिएको छ।
नेपालको संविधानले कुनै पनि नागरिकलाई नेपालको कुनै पनि ठाउँमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता दिएको छ।
तर सत्तारूढ दलको भातृ संस्थाले भने संविधानको उक्त व्यवस्थाविपरित शाहीलाई कास्की प्रवेश गर्न नदिने बताएको हो।
सेतोपाटीले विज्ञप्तिमा हस्ताक्षर गर्ने साविकको वाइसिएल नेपालका कास्की अध्यक्ष भोजराज पौडेलले उक्त विज्ञप्तिको अर्थ के हो भनेर सोधेका थियो।
‘संविधानले हिँड्न पाउने व्यवस्था गरेको छ। साथसाथै कसैलाई अर्काविरूद्ध अनर्गल प्रचार पनि गर्न रोक लगाएको छ। यस्तो काम गरे हामीले त्यस्लाई रोक्ने भनेका हौं,’ उनले भने, ‘निषेध गर्ने भनेको उनी कास्कीमा आउनै नपाउने होइन। यहाँ आएर बिनाप्रमाण कसैकाविरूद्ध लान्छना लगाउने हिसाबले बोले भने त्यसको प्रतिवाद गर्छौं, कारबाही गर्छौं भनेको हो।’
यसरी कसैलाई पनि कुनै ठाउँमा जान निषेध गर्ने र कारबाही गर्ने कानुनी अधिकार तपाईंको संगठनलाई छ त भन्ने प्रश्नको जवाफमा उनले भने-हामीले समाजमा भएका विकृति विसंगतिको प्रतिवाद गर्दै आएका छौं। त्यसलाई रोक्दै आएका छौं। शाहीहरूका गतिविधि पनि विसंगत भएकाले त्यसलाई रोक्ने भनेका हौं। १७ हजार मानिसको बलिदानीबाट आएको गणतन्त्रविरूद्ध उनीहरू बोल्न पाउँदैनन्।
शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्दा नेपालगञ्जबाट काठमाडौं आउन लागेको जहाजको उडानमा ढिला भएको कारण देखाउदैँ शाहीको समूहले मन्त्री भट्टराईलाई ‘दुर्व्यवहार’ गरेको थियो। उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा चर्चामा छ।
सोही विषयमा आइतबार शाहीले पत्रकार सम्मेलन गर्न लाग्दा हुलहुज्जत भएको थियो।
त्यसपछि शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर सोमबार छोडेको छ।