सोमबारको प्रतिनिधिसभा बैठक पनि अवरूद्ध भएको छ।
नेपाली कांग्रेसकी बाँके जिल्ला सभापति किरण कोइरालामाथि गत बिहीबार भएको आक्रमणका दोषीलाई कारबाही गर्ने विषयमा कांग्रेसले संसदमा नाराबाजी गरेको थियो।
बैठकको सुरूमा बोल्दै कांग्रेस सांसद पुष्पा भुषालले कोइरालाको हात भाँच्ने तीन जनाविरूद्धको उजुरी दर्ता गरी उनीहरूलाई कारबाही हुनुपर्ने बताएकी थिइन्।
उनले बोलिसकेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद नन्दलाल रोकायले बोलेका थिए।
बाँके-३ का सांसदसमेत रहेका रोकायले घटनामा नेकपाका कार्यकर्ताको संलग्नता नरहेको भन्दै अहिले उजुरी परेकाहरूलाई कारबाही भए आफूहरू पनि आन्दोलनमा जाने बताएका थिए।
रोकायको भनाइ सकिन नपाउँदै कांग्रेस सांसदहरू सिटबाट उठेका थिए।
केहीबेरमा उनीहरूले रोष्ट्रम घेरेर नाराबाजी गरे।
उनीहरूले ‘राज्य आतंक बन्द गर, दोषीलाई कारबाही गर’ लगायतका नारा लगाएका थिए।
सभामुख कृष्णबहादुर महराले सांसद भुषाल र रोकायले बोलेकोबारे सरकारलाई केही भन्छु, बस्नुस् भन्दा पनि उनीहरूले नाराबाजी जारी राखे।
कांग्रेस सांसदले लामो समयसम्म नाराबाजी जारी राखेपछि सभामुख महराले बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।
यसअघि कांग्रेसले आइतबारको संसद अवरूद्ध गरेको थियो।
आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा बाँके घटनाबारे छलफल गरेका थिए।
यी पनि:
नेकपाको आक्रमणबाट कांग्रेस बाँके सभापतिको हात भाँचियो
कांग्रेस बाँके सभापतिलाई आक्रमण गर्ने नेकपाका तीन कार्यकर्ता पक्राउ
बाँके सभापति आक्रमणको विरोधमा कांग्रेसले शनिबार माइतीघरमा धर्ना र प्रदर्शन गर्ने