सत्तारूढ दल समाजवादी पार्टी नेपालले आउँदो संविधान दिवस नमनाउने भएको छ।
शुक्रबार असोज ३ गते संविधान दिवसका दिन पार्टीले दिपावली र विरोध दुवै नगर्ने जनाएको छ।
'संविधान त्रुटीपूर्ण र अपूर्ण रहेकोले संविधान जारी भएको दिन असोज ३ गते खुसीयालीको रूपमा दिपावली वा विरोधका रूपमा कालो दिन दुवै नमनाउने' समाजवादी पार्टीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
सोमबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस दिनमा कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुने निर्णय गरेको जनाएको छ।
यस दिन पार्टीले सात वटै प्रदेशमा 'संविधान संशोधनको अपरिहार्यता र आवश्यकता' विषयमा अन्तर्क्रिया कार्यक्रम गर्ने बैठकले निर्णय गरेको हो।
सबै बैठक प्रदेशका राजधानीमा गर्ने पार्टीको विज्ञप्तिमा उल्लेख गरिएको छ।