प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारभित्र नयाँ बन्ने भवनको शिलान्यास गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्र नयाँ बेग्लाबेग्लै दुइटा भवन निर्माण गर्न लागिएको हो।
बिहीबार बिहान प्रधानमन्त्री ओलीले धार्मिक विधिपूर्वक पूजा गरी भवन शिलान्यास गरेका हुन्।
दुई भवनमध्ये एक प्रधानमन्त्री निवासका लागि प्रयोग हुनेछ भने अर्कोमा बैठक कक्षसहितको भवन बन्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
करिब ४० करोड रुपैयाँको लागतमा भवन बनाउन लागिएको हो।
‘आगामी आवश्यकतालाई ध्यानमा राखेर आधुनिक प्रविधि सम्पन्न प्रधानमन्त्री निवास निर्माण गर्दै छौं,’ शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले ट्वीट गरेका छन्, ‘नयाँ भवन शिलान्यास गर्न पाउँदा खुसी लागेको छ।’
प्रधानमन्त्री ओलीले बुधबार सिंहदरबारभित्र बन्न लागेको संघीय संसद भवनको पनि शिलान्यास गरेका थिए।
सबै तस्बिरहरू : निशा भण्डारी/सेतोपाटी