सरकारले संविधान दिवस मनाउनको लागि सबैलाई आग्रह गरेको छ।
भोलि मनाइने संविधान दिवसको अवसरमा सरकारले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय झिलिमिली पारेको छ।
अन्य कार्यालयका भने प्रवेशद्वारमा मात्र बत्ती बालिएको छ।
संविधान दिवसको तयारी पूरा गर्नको लागि कर्मचारी खटिरहेका छन्।
संविधान जारी भएको दिन असोज ३ गते संविधान दिवस सरकारी, गैरसरकारी तथा संघसंस्थाको सहयोगमा विभिन्न कार्यक्रम गरी मनाउने सरकारको तयारी छ।
यसै सन्दर्भमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ।
गत भदौ ११ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक बिदा दिएको भन्दै सबैको अर्थपूर्ण सहभागिताको अपेक्षा गरेको बताएका थिए।
उनले संविधान दिवसको बिदा बियर खान र डेटिङ जानको लागि नभइ राष्ट्रिय दिवस नै मनाउन दिएको बताएका थिए।
उनले भनेका थिए ‘त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, बियर खानका निम्ति, गर्लफ्रेण्ड लिएर हिँड्नका निम्ति, ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति दिइएको होइन। फाइनल कुरा यही हो, सिधा सिधा, राष्ट्रिय दिवस नै मनाउन दिएको हो।’
तस्बिरहरू: