राष्ट्रिय जनता पार्टीले विभेदकारी र त्रुटीपूर्ण संविधान जारी भएको भन्दै असोज ३ लाई कालो दिनको रूपमा मनाएको छ।
आफ्ना मागहरू समावेश गर्न संविधान संशोधन नगरेसम्म संविधान दिवसलाई कालो दिनको रूपमा मनाउने निर्णय अनुसार राजपाले विभिन्न ठाउँमा विरोध सभासमेत गरेको हो।
राजपाका नेता कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय बबरमहलमा पनि शुक्रबार विरोध सभा गरे।
नागरिकता, सीमांकन, समावेशीताका आफ्ना मुद्दाहरूको सम्बोधन नभई संविधान बनेको भन्दै राजपाले संविधान बनाउने बेलादेखि नै आन्दोलन गरेको थियो।
संविधान जारी गर्ने बेला संसद बहिस्कार गरेको राजपाले संविधान संशोधन गर्ने सरकारी प्रतिवद्धतापछि भने संसद फर्किएको थियो। संविधानका केही बुँदामा अझै पनि असहमति रहेको भन्दै राजपाले संविधान जारी भएपछिका यी चारै वर्ष असोज ३ लाई कालो दिन भनेर मनाउँदै आएको छ।
मधेशी जनतामाथि लाठीचार्ज गरेर, मधेशमा कर्फ्यू लगाएर संविधान ल्याइएको र आफूले राखेका मागहरू संविधानमा नसमेटिएसम्म असोज ३ गतेलाई कालो दिनकै रूपमा मनाइरहने राजपाले बताउँदै आएको छ।