तनहुँस्थित ऋषिङ गाउँपालिकाको भवन शिलान्यास गर्न पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ताले अवरोध गरेका छन्।
दमौलीबाट रिसिङ जाँदै गरेका रिजाललाई अैरिचौतारीस्थित कार्यक्रमस्थल जान नदिन रूख ढालेर सडक अवरोध गरिएको थियो। ‘सडकमा रूख ढालेर अवरोध गरे। लाठी बोकेका युवा तैनाथ थिए। उनीहरूले प्रशासनको आडमा हामीमाथि अवरोध सिर्जना गरेका हुन्,’ रिजालले भने, ‘कार्यक्रम स्थल नपुगी फर्किन्न भनेर तीन घण्टासम्म सडकमै बसें।’
जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी विनोद सिलवालले केहीबेर तनाव भए पनि प्रहरी परिचालन गरिएपछि अवस्था शान्त भएको बताए।
‘केहीबेर तनाव भएको हो, हामीले प्रहरी पठाएपछि शान्त भयो,’ उनले भने, ‘शिलान्यास कार्यक्रम सकेर उहाँहरू गन्तव्यतिर जाँदै हुनुहुन्छ।’
नेकपाले सहमतिमै कार्यक्रम हुनुपर्ने बताउँदै अवरोध गरेको हो। नेकपालगायत दलहरूले गाउँपालिका कार्यालय चालिसे वा ढुंगाडेमा राख्न सकिने भए पनि पोखरी भञ्याङ्गमा केन्द्र पायक नपर्ने बताउँदै आएका थिए। कांग्रेसको जोडबलमा पोखरी भञ्याङमा भवन शिलान्यास गर्न लागेको भन्दै नेकपाले रोक्न खोज्दा आइतबार तनाव भएको थियो।
गाउँपालिका भवन बनाउने ठाउँबारे लामो समयदेखि बिबाद थियो। गाउँ कार्यपालिका बैठकले वडा नम्बर ६ पोखरी भञ्याङ्गमै भवन बनाउने निर्णय गरेपछि विरोधमा संयुक्त संघर्ष समिति नै गठन भएको थियो। सहमतिमै भवन निर्माण गर्ने ठाउँको टुंगो लगाउनुपर्ने माग गरे पनि कांग्रेसले एकलौटी तवरले शिलान्यास गर्न खोजेपछि तनाव सिर्जना भएको संघर्ष समितिले दाबी गरेको छ।
नेकपा ऋषिङ गाउँ कमिटीले नेता रिजालमाथि आक्रमण नगरिएको उल्लेख गरेको छ। संयुक्त संघर्ष समितिबाट सहमतिमै भवन बनाउने ठाउँको टुंगो लगाउन माग भए पनि नेकपाले अवरोध गर्ने काम नगरेको नेकपा ऋषिङ अध्यक्ष गन्जसिं गुरूङको भनाइ छ।
रिजालमाथि आक्रमण प्रयास भएकोमा कांग्रेसले आपत्ति जनाएको छ। तनहुँ कांग्रेसका कार्यबहाक सभापति जीतप्रकाश आलेले घटना सुनियोजित भन्दै पार्टीले भत्सर्ना गरेको बताएका छन्। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति निकालेर दोषीमाथि कारबाही गर्न माग गरेका छन्। कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले रिजालमाथि आक्रमण प्रयास गर्दै नेकपाले पाहुना कुरिराखेका गाउँपालिकाका जनतामाथि अपमान गरेको बताएका छन्।