झापाको गौरदह नगरपालिका कार्यालय भवनमा मंगलबार ढुङ्गामुढा गरिएको छ।
स्थानीय बैरती टहरा निर्माण उपभोक्ता समितिका अध्यक्ष धनवीर राजवंशीको सोमबार निधन भएपछि नगरपालिकामा तनाव भएको हो।
आइतबार टहरा निर्माणको भुक्तानी लिन गएका ६५ वर्षीय राजवंशी नगरपालिका परिसरमै बेहोस भएका थिए।
सोमबार बिहान उनको उपचारका क्रममा मृत्यु भएपछि स्थानीय र पीडित पक्षले क्षतिपूर्ति र इन्जिनयरको बर्खास्तीको माग गर्दै तोडफोड गरेका हुन्।
‘पटक-पटक उहाँ कार्यालय धाउँदा पनि प्राविधिक ढिलासुस्तीले गर्दा काम भएनछ। यसै कुरामा तनाव भएर बेहोस हुनु भएको भन्ने परिवारको कुरा छ,’ मेयर रोहितकुमार शाहले भने, ‘पीडित पक्षले काम ढिलाइ गर्ने इन्जिनियरलाई बर्खास्त र मृत्यु भएकोमा क्षतिपूर्तिको माग गर्ने क्रममा तोडफोड भएको हो।’
तोडफोडका क्रममा कार्यालयको झ्यालको सिसा फुटेको छ। मङ्गलबार बिहानसम्म कार्यालय क्षेत्र तनावग्रस्त भए पनि अहिले अवस्था समान्य भएको मेयर शाहले बताए।
‘अहिले अवस्था सामान्य भइसक्यो,’ उनले भने, ‘काममा ढिलाइ गर्ने इन्जिनयर सचिनकुमार क्षेत्रीलाई बर्खास्त गरियो र पीडित पक्षलाई राहत स्वरुप पाँच लाख दिने व्यवस्था गरियो।’