नेपालका लागि अमेरिकी राजदुत र्याडी बेरीले ‘इन्डो–प्यासिफिक स्ट्राटिजी’ कुनै पनि खालको सैन्य गतिविधि वा राजनीतिक गतिविधिलाई अघि बढाउने उद्देश्यका साथ नल्याइएको बताएका छन्।
नेपालमा चीनले अघि सारेको ‘बिआरआई’ अवधारणामाथि व्यापक छलफल भईरहेका बेला अमेरिकी राजदूत बेरीले सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटगरी आफ्नो मुलुकले अघि सारेको ‘इण्डो–प्यासिफिक स्ट्राटिजी’ को उद्देश्य अन्य देशमा सैन्य गतिविधि वा राजनीतिक गतिविधि अघि बढाउनु नरहेको प्रष्टयाए।
शुक्रबार बिहान काठमाडौंको डल्लुस्थित खनाल निवासमै पुगेर उनले खनालसँग भेटवार्ता गरेका थिए। भेटमा नेपाल तटस्थ मुलुक भएकाले सो स्ट्राटिजीमा सहभागी गराउन अमेरिकाले कुनै पनि प्रयास नगर्ने बताएको खनालले जानकारी दिए।
‘‘इन्डो–प्यासिफिक स्ट्राटिजी’ कुनै सैन्य संगठन होइन, यो कुनै राजनीतिक मोर्चा पनि होइन,’ अमेरिकी राजुदत बेरीसँगको भेटवार्तालाई उदृत गर्दै वरिष्ठ नेता खनालले भने ‘हामी नेपाललाई यसमा ल्याउन वा तान्न बिलकुलै प्रयत्न गरिरहेका छैनौं।’
यता, वरिष्ठ नेता खनालले पनि नेपालले असंलग्नताको नीति लिएको हुनाले त्यस्ता रणनीतिक साझेदारीहरुमा तटस्थताको भूमिका निर्वाह गर्ने जवाफ राजदूत बेरीलाई दिएका थिए। नेपालमा चिनियाँ गतिविधि बढ्दै गईरहँदा अमेरिकी राजदूत बेरीले तीव्रता दिएको राजनीतिक भेटवार्तालाई चासोपूर्वक हेरिएको छ।