नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सचिवालय सदस्यहरूले भेटवार्ता गरेका छन्।
उनीहरूले आइतबार बिहान १०:३० बजेदेखि होटल सोल्टीमा सामूहिक भेटघाट गरेका हुन्।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय सदस्यहरू र राष्ट्रपति सीबीच भेटवार्ता भएको जानकारी दिए।
‘अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरू भेटवार्तामा सरिक भएका छौं,’ प्रवक्ता श्रेष्ठले सेतोपाटीसँग भने।
सचिवालय सदस्यहरूसँगको भेटवार्ता सकिएपछि राष्ट्रपति सी र अध्यक्ष प्रचण्डबीच वान टु वान भेटवार्ता हुने प्रचण्डको सचिवालयले जनाएको छ।
प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले सेतोपाटीसँग भने, ‘सचिवालय सदस्यहरूसँगको भेटवार्ता सकिएपछि वान टु वान भेट हुन्छ।'
राष्ट्रपति सीले शनिबार साँझ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए।
त्यसअघि शनिबार नै राष्ट्रपति सी शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए।
राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति भण्डारीले शनिबार होटल सोल्टीमा रात्रीभोज आयोजना गरेकी थिइन्।
त्यसपछि राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको प्रतिनिधि मण्डलबीच औपचारिक वार्ता हुनेछ। वार्ताका क्रममा केही महत्वपूर्ण सम्झौता र सहमति पत्रमा हस्ताक्षर हुनेछ।
दुई दिने नेपाल भ्रमण सकेर राष्ट्रपति सी आइतबार दिउँसो १ बजे चीन उड्ने छन्।
सबै तस्बिरहरू : प्रदीपराज वन्त