सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा परिपक्वता देखिएको बताएका छन्।
दुई दिने राजकीय भ्रमण सकेर राष्ट्रपति सी आइतबार चीन फर्केका छन्।
सोमबार ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले राष्ट्रपति सीको नेपाल भ्रमण ऐतिहासिक, भव्य र सफल रहेको उनले उल्लेख गरेका छन्।
‘चीनका राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक, भव्य र सफल रह्यो। यो साँच्चै कोशेढुंगा बनेको छ र हाम्रो सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको छ,’ श्रेष्ठले भनेका छन्, ‘महामहिम सी र चीन सरकारप्रति आभार। यसपटक हाम्रो पनि परिपक्वता देखियो। सिंगो देश एक ढिक्का भयो र सरकारले कुशलता र श्रेष्ठता देखायो, प्रधानमन्त्री र सबैलाई बधाई।’