उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले चिनियाँ सरकारका अनुभव र कामहरू सिक्न चाहेको बताएका छन्।
सिल्क रोड युथ फोरमले सोमबार राजधानीमा गरेको ‘चाइना नेपाल युथ कर्पोरेशन कन्फ्रेन्स’ लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले चीनमा पनि कम्युनिष्ट र नेपालमा पनि कम्युनिष्ट पार्टीको सरकार रहेको सन्दर्भमा सरकारले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृृत्वमा रहेको सरकारका अनुभवन र कामहरू सिक्न चाहेको बताएका हुन्।
नेपालका कम्युनिष्टहरूले जनतासँग गरेको प्रतिवद्धता अनुसार अगाडि बढ्ने अठोट गरेको उल्लेख गर्दै उनले भने, ‘चिनियाँ कम्युनिष्टहरूकै पथमा नभइ नेपालको विशेषता अनुसार पृथक ढंगले अघि बढ्ने छौं।’
उपप्रधानमन्त्री पोखरेलले जनताको स्वार्थलाई प्राथमिकतामा राख्ने विषय भने चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्ट पार्टीको साझा विषय भएको उल्लेख गरे।
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणको क्रममा नेपाललाई भूपरिवेष्ठितबाट भूजडित बनाउने अभिव्यक्ति दिएको स्मरण गर्दै उनले अब भू–जडित मुलुकको रूपमा विश्व रंगमञ्चमा नेपालले आफ्नो भूमिकालाई स्थापित गर्ने बताए।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले चीन र नेपालको पुरानो मित्रतालाई थप प्रगाढ बनाउने काम गरेको भन्दै उनले आगामी दिनमा मित्रतालाई थप उचाइमा पुर्याउने बताए।
भ्रमण हुनुपूर्व कतिपयले चीन सरकारसँग के/के माग्छौ भनेर व्यंग्य गर्ने गरेको स्मरण गर्दै उनले नेपाल सरकार छिमेकी मुलुकसँगको मित्रतालाई सुदृढ गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट पारे।
उनले भने,‘कतिपय मानिसहरूले राष्ट्रपतिको भ्रमणभन्दा पहिला तिमी नेपालीहरूको हातमा के के सपिङ लिस्ट छ? भनि जिज्ञासा राखे। हामीले त्यसबेला भनेका थियौ हामी सपिङ लिस्ट लिएर बसेका छैनौं। हामीले परिवर्तित सन्दर्भमा हाम्रो मित्रताले उचाइ प्राप्त गर्नुपर्छ भन्ने हाम्रो विचार हो भनेर सुनाएका थियौं। त्यस हिसाबले भ्रमणले दुई देशबीचको मित्रताले उचाइ प्राप्त गरेको छ। यो मित्रतालाई हामी पर पर पुर्याउन चाहन्छौं।’
उनले चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा भएका प्रतिवद्धतालाई दृढतापूर्वक कार्यान्वनय गरेर व्यवहारिक रूपमा नै दुई देशको मित्रतालाई थप सुदृढ बनाउन सरकार प्रतिवद्ध रहेको बताए।