नेपाली कांग्रेसले १४ व्यक्तिको हत्या गरेको आरोप लागेका रौतहट २ का सांसद मोहम्मद आफताब आलमको घटनाको छानबिन गरी दोषीलाई कानुनअनुुसार कारबाही हुनुपर्ने बताएको छ।
अनुसन्धानबाट निर्दोष या दोषी ठहर हुने कानुनी प्रक्रियालाई सबैले सघाउनुपर्ने प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत् उल्लेख गरेका छन्।
आलमलाई प्रहरीले पक्राउ गरेपछि उनको सांसदको हैसियत गुमेको छ।
उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन्।
उनी आइतबर आफ्नै निवासबाट पक्राउ परेपछि रौतहटमा आइतबार र सोमबार कांग्रेस कार्यकर्ताले प्रदर्शन पनि गरेका थिए।
सोमबार बेलुकी ट्वीट गर्दै शर्माले भनेका छन्, `निर्दोष कहिले पनि दण्डित हुनुहुन्न, दोषी कहिले पनि उन्मुक्ति पाउनुहुन्न। आलम पक्राउ प्रकरणमा पनि सत्य यही हो। कांग्रेसको यो केन्द्रीय धारणा मंगलबारबाट रौतहट कांग्रेसले पनि अनिवार्य बोक्नेछ।´
यस्तै कांग्रेस केन्द्रीय सदस्य गगन थापाले पनि दोषी ठहरिए कारबाही हुनुपर्ने उल्लेख गरेका छन्।
कानुन अनुसार छानबिन गर्नुपर्ने भन्दै उनले पात्र र परिस्थिति हेरेर धारणा बन्दैन/बदलिँदैन भनेका छन्।
आलमलाई २०६४ सालको चुनावका बेला १४ जनाको हत्या गरेको आरोप छ।
सम्बन्धित समाचारहरू:
‘घर जान्छु भन्दा इँटाभट्टाको भुंग्रोमा जिउँदै जलाइयो’
आलमको सेवा सुविधा रोक्का, दोषी ठहर भए पद गुम्ने
कांग्रेस सांसद आलमविरूद्ध १४ जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी
कांग्रेस सांसद आलम निवासबाटै पक्राउ