राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोदकुमार साहलाई गरिएको पक्राउ विरुद्ध जनकपुरमा युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन्।
राज्यले षडयन्त्रपूर्वक सांसद साहलाई पक्राउ गरी मुद्दा चलाएको भन्दै मंगलबार साँझ राजपा निकट विद्यार्थी तथा युवा संगठनले रामानन्द चोकमा प्रदर्शन गरेका हुन्। प्रदर्शनको क्रममा युवाहरुले बुद्ध एयर र सरकार विरुद्धमा चर्को नाराबाजी गरेका छन्।
सांसद साहलाई यथाशीघ्र रिहा नगरिए कडा आन्दोलन गर्ने राजपा प्रदेश दुईका प्रमुख सचेतक एवं प्रदेश सभा सदस्य परमेश्वर साहले चेतावनी दिए।
जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा राजपा सांसद साहलाई काठमाडौंबाट पक्राउ गरी जनकपुर ल्याइएको छ। साह अहिले प्रहरी हिरासतमा छन्।