चियापानको निम्तो नपाएपछि राजपा नेताहरू नेकपाको चियापानमा गएनन्।
नेकपाले आज आयोजना गरेको चियापानका लागि पार्टीका नेताहरूलाई निम्तो नआएको राजपा महासचिव केशव झाले सेतोपाटीलाई बताए। नेकपाले मात्रै होइन कांग्रेसले पनि चियापानमा निम्तो नपठाएको झाले बताए।
‘गत वर्ष १ सय ५० भन्दा बढी निम्तो कार्ड नेकपा र कांग्रेसले पठाएका थिए’ झाले भने, ‘यसपटक उहाँहरूले खै किन पठाउनुभएन हामीले थाहा पाउने कुरा भएन, त्यो उहाँहरूकै कुरा हो।’
राजपा अध्यक्षमण्डलका संयोजक महन्त ठाकुरलाई भने निम्तो गएको थियो। ठाकुर कांग्रेसको चियापानमा सहभागी भएका थिए। नेकपाको चियापानमा भने स्वास्थ्य समस्याको कारण नगएको ठाकुरका स्वकीय सचिव सतेन्द्र मिश्रले सेतोपाटीलाई बताए।