सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमण हरेक हिसाबले सफल भएको बताएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले भने, ‘चिनियाँ राष्ट्रपति भ्रमण हरेक हिसाबले सम्पन्न भयो। यो भन्नका लागि भनिएको होइन।’
राष्ट्रपति सीको भ्रमणले नेपालप्रति सम्मान र नेपालीप्रतिको विश्वास भएको उनले बताए।
‘यो भ्रमणले नेपाल अन्तर्राष्ट्रिय जगतमा चिनिएको छ,’ उनले भने, ‘अनेक कोणबाट राष्ट्रिय/अन्तर्राष्ट्रिय मिडियामा कभरेज भएको छ।’ भ्रमण ऐतिहासिक रूपमा सफल भएको उनले बताए।
‘नेपाल अब भूजडित हुने राष्ट्रपति सीबाट प्रतिवद्धता व्यक्त भएको छ,’ उनले भने, ‘हाम्रो सम्भावनाको ढोका खुल्यो। अब हामी अप्ठेरोमा छैनौं भन्ने सन्देश दिएको छ।’
भ्रमणबाट कनेक्टिभिटीका लागि रेल वे, विद्युत, सञ्चारलगायत क्षेत्रमा फाइदा हुने उनले बताए।
विकास र समृद्धिका लागि चीनसँग रणनीतिक साझेदारी गरिएको पनि उनले बताए।
सैनिक गठबन्धनका कुरामा नसोचिएको उनले जानकारी दिए।
‘भारतीय र चिनियाँ सरकारले सेनालाई सहयोग गरेकै छ। सहयोगको स्वागत गरिएकै छ। अन्य हिसाबले व्याख्या गर्नुपर्ने छैन,’ उनले भने।
शंका र अविश्वासमा नगइ नीति र क्षमतामा विश्वास गर्नुपर्ने उनले बताए।