प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन कात्तिक ८ गते अजरबैजानको राजधानी बाकु जाने भएका छन्।
बाकुमा कात्तिक ८ र ९ गते असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलन हुँदैछ।
सम्मेलनमा राष्ट्र प्रमुख र सरकार प्रमुखहरू सहभागी हुनेछन्।
प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी पनि सहभागी हुनेछन्।
प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई कात्तिक ९ गते सम्बोधन गर्नेछन्।
सम्मेलनका दौरान प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका सरकार र राष्ट्र प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।
प्रधानमन्त्री ओली कात्तिक १० गते बिहान नेपाल आइपुग्नेछन्।