प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले काम गरिरहेको बताएका छन्।
चौतर्फी रूपमा सरकारले विकासको काम गरिरहेको उनले दाबी गरे।
‘कुरा गर्ने मान्छे कुरा गरिरहेका छन्, सरकारले काम गरिरहेको छ,’ नागढुंगा-सिस्नेखोला सुरूङमार्ग शिलान्यास गर्दै सोमबार प्रधानमन्त्री ओलीले भने, ‘सरकार चौतर्फी रूपमा विकासका काम गरिराखेको छ।’
प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि नयाँ उचाइमा पुगेको उल्लेख गर्दै नेपालीहरूलाई बधाई पनि दिए।
‘नयाँ उचाइमा उठेकोले बधाई छ,’ उनले भने, ‘टोखा छहरे, बेत्रावेंशी स्याप्रुवेंशी, नागढुंगा सिस्नेखोलामा सुरूङमार्ग बन्दैछ,’ उनले भने, ‘थानकोटदेखि छेडेर चित्लाङसम्म पनि सुरूङ खन्छौं। पाँच मिनेटमै पुगिने गरी बाटो बनाउँछौं।’
उनले सबै आयोजनामा निर्माण कम्पनीलाई समयभित्र नै योजना पूरा गर्ने गरी काम गर्न आग्रह गरे।
उनले फास्ट ट्रयाक सडक निर्माण तीव्र गतिमा निर्माण भइरहेको बताए।
पूर्वपश्चिम हुलाकी राजमार्ग लगभग निर्माण सकिएको प्रधानमन्त्री ओलीको भनाइ छ।
‘एक लेनको सडक बनाउन छाडियो। चार, छ लेनको सडक बनाउन थालिएको छ। यो वर्ष १६ सय किलोमिटर सडक कालोपत्रे गरियो। दुई सय ४३ वटा पुल निर्माण भए,’ उनले भने, ‘इतिहासमा यति धेरै बाटो कहिल्यै बनेको थिएन। यसरी बाटो बन्ने हो भने समस्या हुँदैन।’
प्रधानमन्त्री ओलीले कोसी र गण्डकीमा पानीजहाज चलाउनका लागि अध्ययन गरिराखेको पनि बताए।
निजी क्षेत्रबाट नदीहरूमा स्टिमर सञ्चालन हुन थालेको उनको भनाइ छ।
‘मैले पानीजहाजको कुरा गरेँ मान्छेहरूले उडाए,’ उनले भने, ‘पानीजहाज चलाउने गरी अध्ययन गरिराखिएको छ।’