डोजरले महिला हुत्याउने चालकविरूद्ध ज्यान मार्ने कोशिस गरेको भन्दै जाहेरी परेको छ।
दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरूद्ध ज्यान मार्ने कोशिस गरेको भन्दै परेको जाहेरीमाथि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
महिला हुत्याएको भिडिओ सार्वजनिक भएपछि प्रहरीले चालक बोहोरालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक किसन चन्दले बताए।
‘जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेका छौं’, उनले भने, ‘जिल्ला अदालतबाट १० दिनको म्याद थपेर बोहरामाथि अनुसन्धान भइरहेको छ।’
वडा नं ९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा सोमबार झडप भएको थियो। झडपका बेला सडक रोक्ने पक्षकी गौरी जोशीलाई डोजरले हुत्याएको थियो।
डोजरले हुत्याउँदा जोशी गम्भीर घाइते भएकी छन्। उनको कोहलपुरमा उपचार भइरहेको छ।
झडपका क्रममा भएको ढुंगा हानाहानमा दुवै पक्षका अरु सात समान्य घाइते भएका थिए। गुठीको जमिनमा स्थानीय उपभोक्ता समितिले सडक खन्न थालेपछि विवाद हुँदै आएको थियो।
तिहारपछि विवाद समाधान गरी सडक खन्ने सहमति भएको भए पनि एक्कासी सडक निर्माण गर्न खोज्दा घटना भएको हो।
सडक निर्माणका विषयमा भएको विवादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुंगोमा पुग्ने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।