राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार र जापानको भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएकी छन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका हुन्।
राष्ट्रपति भण्डारीले म्यानमारका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गत असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गरेकी थिइन्। म्यानमारको राजकीय भ्रमण सम्पन्न गरी राष्ट्रपति भण्डारी कात्तिक ३ गते जापानी सम्राट् नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन म्यानमारबाट जापानतर्फ प्रस्थान गरेकी थिइन्।
जापानमा रहँदा राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच टोकियोमा शिष्टाचार भेटवार्तासमेत भएको थियो।
राष्ट्रपतिसँग राज्याभिषेक समारोहमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी पदाधिकारीसमेत सहभागिता रहेको थियो।
सबै तस्बिरहरू : रासस