सीमा विवादबारे राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा राखेको सर्वपक्षीय बैठकमा नेपालका लागि भारतीय राजदूतसँग स्पष्टिकरण सोध्न सुझाव आएको छ।
बैठकमा सहभागी भई शनिबार साँझ बाहिरिएका पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले भारतीय राजदूतसँग स्पष्टिकरण सोध्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए।
‘भारतले नेपालको भूमिसहित नक्सा जारी गरेकोले भारतीय राजदूतलाई बोलाएर स्पष्टिकरण सोध्न बैठकमा सुझाव आएको छ,’ लोहनीले पत्रकारहरूसँग भने, ‘राजदूतलाई स्पष्टिकरण सोध्न सबै दल र नेताहरू पनि एकमत हुनुहुन्छ।’
नेपालको भूमि एक इन्च पनि अतिक्रमण हुन दिन नहुने उनले बताए।
‘कालापानीमा भारतले पहिले सेना राख्यो अहिले त्यो भूमि नक्सामा राखेको रहेछ यो गलत हो,’ उनले भने।
उनले कूटनीतिक तवरबाट नेपाल र भारतबीच सीमा विवाद हल गर्न सुझाव दिएको बताए।
उनले भारत सीमा विवादमा गम्भीर नदेखिए अन्तर्राष्ट्रिय मञ्चमा जानुपर्ने बताएका छन्।
यो पनि :
सर्वपक्षीय बैठकमा भट्टराईको सुझाव- कूटनीतिक तवरले सीमा विवाद सुल्झाउनुपर्छ