भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गुगलमा सर्च गरेर नक्सा प्रयोग गर्दा नेपालको निशान छापमा प्रयोग भएको नक्सा त्रुटीपूर्ण भएको स्वीकार गरेकी छिन्।
प्रधानमन्त्रीको तर्फबाट प्रतिनिधिसभाको राज्य व्यवस्था समिति बैठकमा पुगेकी मन्त्री अर्यालले नेपालको निशान छापको नक्सामा त्रुटी भएको स्वीकार गरिन्।
साथसाथै उनले नेपालको नापी विभागले पछिल्लोपटक जारी गरेको नक्सामा लिपुलेक र कालापानीलाई समावेश गरिएको बताइन्।
नेपालको संविधानको अनुसूचीमा नेपालको निशान छाप राखिएको छ। निशान छापमा प्रयोग भएको नक्साका विषयमा सांसद तथा सीमाविद्हरूले प्रश्न उठाउँदै आएका छन्।
समिति बैठकमा सांसदहरूले लिम्पियाधुराबाट बगेर आउने नदी नै काली(महाकाली) नदी भएको र त्यसबाट पूर्वपट्टिको भाग नेपाल भएको धारणा राखेका थिए।
सुगौली सन्धीमा नै काली नदी पूर्वको भाग नेपाल भएको उल्लेख भएकाले लिम्पियाधुरा नेपाल भएको जिकिर सांसदहरूले गर्दै आएका छन्।
समिति बैठकमा अर्यालले २०३४ साल अघिसम्म नेपालले आफ्नो नक्सा आफैं बनाउन नसक्ने अवस्था रहेको र भारतले नै जारी गर्ने गरेका कारण समस्या भएको बताइन्।
'त्यो खालको सामर्थ्य हामीसँग थिएन', अर्यालले भनिन्, '२०३४ देखि २०६२ सम्म नाप नक्सा भयो।’
उनले अहिले नेपालमा प्रचलनमा रहेका नक्साहरू गुगलबाट निकालिने गरेका कारण समस्या भएको उल्लेख गरिन्।
'स्थापित मान्यता नापी विभागबाट प्रकाशित र प्रमाणित नक्सा नै नेपालको नक्सा हो भन्ने हो', अर्यालले भनिन्, 'तर चलनचल्तीमा गुगलबाट सट्टसट्ट नक्सा झिक्ने भयो। गुगलबाट झिक्ने नक्सा भनेको इण्डियाले बनाइदिएको नक्सा हो।’
उनले नेपालको सरकारी कार्यालयहरूमा समेत गलत नक्सा प्रयोग भएकै कारण नयाँ नक्सा जारी भएको बताइन्।
'त्रुटि कहाँनेर भएको हो भने गुगलबाट झिक्दा र हामीले सावधानी नअपनाउँदा, ठीक हो कि हैन भनेर चेक नगर्दाको त्रुटि हो', अर्यालले भनिन्।