रौतहटको इशनाथ नगरपालिका-४ को मठिया प्रहरी चौकीमा अज्ञात समूहले सुतली बम बिस्फोट गराएको छ।
मंगलबार दिउँसो पौने १ बजे अज्ञात समूहले चौकीमा बम प्रहार गरेको दुई नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले बताए।
बम बिस्फोटबाट चौकीमा कुनै क्षति भएको छैन भने एक जना प्रहरी जवान घाइते रहेको कार्कीले बताए।
बिस्फोटमा संलग्न एक जना भारतीय नागरिक र उनी सवार मोटरसाइकललाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बिआर०५एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले प्रहरी चौकीमा सुतली बम प्रहार गरेका थिए। बम प्रहार गरेर भागेकामध्ये भारत सीतामढी जिल्लाको ढाका घर बताउने २५ वर्षीय चन्दनकुमारलाई प्रहरी चौकीबाट एक किलोमिटर टाढा नेपाल-भारत सिमाको दसगजाबाट पक्राउ गरिएको कार्कीले बताए। अर्का एक जना व्यक्ति फरार छन्।
बम प्रहारबाट प्रहरी जवान रञ्जितकुमार यादवको काखीदेखि तिघ्रासम्म सामान्य चोट लागेको छ। घटनास्थलमा जिल्ला प्रहरीबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दस जना प्रहरीले अनुसन्धान गरिरहेका छन्।
पक्राउ परेकासँग प्रहरीले बम बिस्फोट गराएको घटनाबारे सोधपुछ गरिरहेको छ।