राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली बिजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा दुई कम्पनी र तिनका सञ्चालकविरूद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
हस्पी केयर इन्टरनेशनल र श्याम ट्रेडर्स त्रिपुरेश्वरविरूद्ध विभागले ११ करोड १९ लाख ८४ हजार १६४ रुपैयाँ बिगो, दोब्बर जरिवाना र तीन वर्ष कैद माग गर्दै अदालतमा मुद्दा दायर गरेको हो।
हस्पी केयर इन्टरनेशनलको कारोबार गर्ने मुख्य व्यक्ति भारतीय नागरिक केशव वंशल हुन्। सो फर्मका प्रोप्राइटर रामसुन्दर रायभर र श्याम ट्रेडर्सका प्रोप्राइटर राकेश पाण्डेय हुन्।
हस्पी केयर इन्टरनेशनल र श्याम ट्रेडर्सले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य अभिबृद्धि कर र आयकर छलेको अभियोग विभागले लगाएको छ।
विभागको मागदाबीमा भारतीय नागरिक केशव वंशलले सञ्चालन गरेको हस्पी केयर इन्टरनेसनलले राजस्व चुहावट गरी आर्जन गरेको रकमबाट खरिद गरेको घर, जग्गा तथा सवारी साधनहरू नेपाली नागरिकहरुको नाममा दर्ता गरी भोगचलन गर्ने गरेको पाइएको उल्लेख छ।
श्याम ट्रेडर्स वंशद्वारा संचालित नेपाली कमपनीकै एउटा शाखा कम्पनी हो। राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेध गरेको र सोही ऐनको दफा ४ को खण्ड (क) र (ख) बमोजिम कसुर गरी मूल्य अभिबृद्धि करतर्फ तीन करोड १२ लाख १९ हजार ९५९ र आयकरतर्फ ८ करोड ७ लाख ६४ हजार २०५ समेत गरी ११ करोड १९ लाख ८४ लाख १६४ राजस्व चुहावट गरेको कसुर स्थापित भएको अभियोग पत्रमा उल्लेख छ।
विभागका अनुसार हस्पी केयर इन्टरनेशनलको कारोबार गर्ने वंशल अहिले फरार छन्। त्यसका प्रोप्राइटर रायभर र श्याम ट्रेडर्सका प्रोप्राइटर पाण्डेयलाई राजस्व अनसन्धानले पक्रउ गरेको छ। सबैलाई बिगोको दोब्बर रकम असुल गराउन र कैद सजाय माग गरिएको छ।
वंशलले सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर समेत गरेको देखिएकोले आवश्यक छानबिन तथा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लेखी पठाएको महानिर्देशक दीर्घराज मैनालीले सेतोपाटीलाई बताए।