तीन साताअघि विधान सभाको चुनाव भएको भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लागु भएको छ।
विधान सभाबाट चुनिएका कुनै पनि दलले सरकार बनाउन नसकेपछि गभर्नर भगतसिंह कोसियारीले मंगलबार राष्ट्रपति शासन लगाउन केन्द्र सरकारलाई सिफारिस गरेका थिए।
मंगलबार साँझ बसेको भारतको मन्त्रिपरिषद् बैठकले महाराष्ट्रमा राष्ट्रपति शासन लागू गर्ने निर्णय गरेको थियो। ब्रिक्स सम्मेलनका लागि ब्राजिल उड्न लागेका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो उडान नै केहीबेर रोकेर महाराष्ट्रमा राष्ट्रपति शासन लगाउने निर्णय गराएका छन्। मन्त्रिपरिषद बैठकका कारण मोदीको जहाज निर्धारित समयभन्दा १५ मिनेट ढिला उडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामनाथ कोविन्दले मंगलबार साँझदेखि नै महाराष्ट्रमा राष्ट्रपति शासन लागू गरेका छन्।
महाराष्ट्र अक्टोबर २१ मा २८८ सदस्यीय विधान सभाका लागि चुनाव भएको थियो। चुनावमा कुनै पनि दलले बहुमत ल्याउन सकेनन्। भारतीय जनता पार्टी १०५ सिटमा जितेर ठूलो दल बन्यो। क्षेत्रीय दल शिव सेनाले ५६ सिट जित्यो। यी दुई दल गठबन्धन बनाएर चुनाव लडेका थिए। सरकार बनाउने बेलामा मुख्यमन्त्री को हुने भन्नेबारेमा उनीहरूबीच विवाद भयो। शिव सेनाले मुख्यमन्त्री दाबी गरेको थियो। तर भाजपाले उसको प्रस्ताव मानेनन्। यसअघि शिव सेनाको समर्थनमा भाजपाका देवेन्द्र फड्नाविस मुख्यमन्त्री थिए।
तेस्रो स्थानमा रहेको नेशनलिस्ट कंग्रेस पार्टी र चौथो स्थानमा रहेको भारतीय कंग्रेसले पनि सरकार बनाउने १५ दिनको सीमाभित्र बहुमतको गठबन्धन बनाउन नसकेपछि राष्ट्रपति शासन लागू भएको हो।
दोस्रो स्थानमा रहेको शिव सेना भने राष्ट्रपति शासनको विरोधमा आजै सर्वोच्च अदालत गएको छ। गभर्नर कोसियारीले सरकार बनाउन पर्याप्त समय नदिएको उसको जिकिर छ।