दाङको घोराही उपमहानगरपालिका वडा नं. १६ को वडा अध्यक्ष पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन्।
आगामी मंसिर १४ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले उपलब्ध गराएको समयतालिका अनुसार विभिन्न सात जना उम्मेदवारहरूले बुधबार निर्वाचन अधिकृतको कार्यालय घोराहीमा पुगेर मनोनयन दर्ता गराएका हुन्।
घोराहीको वडा नं. १६ को वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट ताराबहादुर डाँगी, सत्तारुढ नेकपाबाट सुरेशबहादुर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रकाश केसी, समाजवादी पार्टीको तर्फबाट विमला पुन र मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट पहलमान आले मगर समेत गरी पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्।
नेकपामा बागी उम्मेदवार
मंसिर १४ गते हुने उपनिर्वाचनमा घोराहीको वडा नं. १६ को वडा अध्यक्ष पदका लागि सत्तारूढ दल नेकपाका जगलाल चौधरीले बागी उम्मेदवारी दिएका छन्। उनी पनि दलबल र बाजाजागासहित उम्मेदवारी दिन पुगेका थिए। त्यस्तै, एकजना २४ वर्षीय युवा समिर वलीले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
वली यसअघि विवेकशील साझा पार्टीमा आवद्ध थिए।
जिल्ला निर्वाचन अधिकृत रितेन्द्र थापाले बिहान १० बजेदेखि १ बजेभित्र प्रवेश गरिसकेका पाँच राजनीतिक दल र दुई जना स्वतन्त्र उम्मेदवार समेत गरी सात जनाले वडा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएको जानकारी दिए।