अमेरिकन पेस्तोलसहित चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
बिहीबार बिहान राप्ती नगरपालिका-६ बाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरिएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए।
पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका-१२ का ३७ वर्षीय मधुकर केसी र सल्यान कपुरकोट गाउँपालिका-५ का ३३ वर्षीय नारायण बुढाथोकी छन्।
इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले हर्दीस्थित तामाङ ब्लक उद्योग अगाडि पूर्व-पश्चिम राजमार्ग छेउमा बा८५प ८०८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिई तलासी लिँदा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।
पेस्तोलसँगै त्यसको एक थान म्यागजिन र पाँच राउन्ड गोली बरामद भएको चितवन प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकालाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको छ।
मुलुकी अपराध संहिता-२९७४ को हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा कारबाही तथा अनुसन्धान हुने प्रहरीले जनाएको छ।
उक्त कसूर स्थापित हुन आएमा हातहतियार जफत गरी पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।