ज्योति परिवारले ल्याण्डमार्क हाउजिङमा घर दिने भन्दै पैसा लिएर ठगेको जाहेरी दिएका विज्ञेन्द्रकृष्ण मल्लले आफ्नो जाहेरी फिर्ता गर्न माग गर्दै सरकारी वकिल कार्यालयमा निवेदन दिएका छन्।
मल्लको जाहेरी फिर्ता गरिपाउँ भन्ने निवेदन परेको सहन्यायाधीवक्ता तथा काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल चन्द्रकान्त खनालले बताए।
'निवेदन त परेको छ तर त्यसमा के हुने भन्ने निर्णय भएको छैन,' उनले भने।
उनका अनुसार, जाहेरी फिर्ता गर्ने निर्णय भए रूप ज्योतिविरूद्ध मुद्दा चल्दैन। नभए प्रहरीले बुझाएको प्रतिवेदन हेरेर मुद्दा चल्ने र नचल्ने निर्णय हुन्छ।
प्रहरीले रूप ज्योतिमाथि अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकिएको काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले सेतोपाटीलाई बताए।
मल्लले भने रूप ज्योतिविरूद्ध दिएको मुद्दा फिर्ता गर्न नेगोसियसन भइरहेको बताए।
'हामीले मिलापत्र गर्ने कुरा भएको छ, तर हुन्छ कि हुन्न अझै टुंगो छैन। मैले मेरो पैसा फिर्ता र ठगी भएकोले क्षतिपूर्ति पनि माग गरेको छु। जग्गा पाए त हुन्थ्यो तर उनीहरू असमर्थ भएपछि क्षतिपूर्तिसहित पैसा भए हुन्छ भनेर मिल्ने भनेको हुँ,' उनले भने, 'मुद्दा पनि ४/५ पाँच वर्ष लागिहाल्छ। मलाई न्याय चाहिएको हो त्यो पाए भयो।'
मल्लले ल्याण्डमार्क डेभलपर्स कम्पनीले बेच्ने भनेको घर किन्न २०७१ साल भदौमा एक करोड ३६ लाखमा बैना गरे।
त्यो बैना उनले सिधै ल्याण्डमार्कलाई नभई निर्माण कम्पनी सिई कन्स्ट्रक्सनका महाप्रबन्धक शम्भुप्रसाद फुँयाललाई दिएका थिए। फुयाँल नै ल्याण्डमार्कका अख्तियारप्राप्त व्यक्ति भएकाले आफूले उनलाई पैसा बुझाएको मल्लको दाबी छ।
पछि ल्याण्डमार्कले सो जग्गा नबेच्ने निर्णय गर्यो।
ल्याण्डमार्कले जग्गा नबेच्ने निर्णय गरेको लिखित जानकारी गराउँदै सिई कन्स्ट्रक्सन प्रालिले मल्ललाई रकम फिर्ता लैजान भन्यो। फुयाँलले मल्लसँग बैना लिएको झण्डै साढे तीन वर्षपछि पैसा फिर्ता लैजान पत्राचार गरेको देखिन्छ।
लामो समयसम्म घर दिने भन्दै झुलाएर बैना फिर्ता दिन खोजेपछि मल्लले मानेनन्। आफूलाई घर नै चाहिने अड्डी कसे। उनले प्रहरीकहाँ आफूलाई घर नदिएर बैना फिर्ता लिन ल्याण्डमार्कले दबाब दिएको भन्दै उजुरी गरे।
महानगरीय प्रहरी परिसरले ल्याण्डमार्क डेभलपर्सका प्रतिनिधि, मल्ल र फुयाँललाई बोलायो। छलफल पछि ल्याण्डमार्क डेभलपर्स प्रालिको बैना रकम सम्बन्धमा कुनै सरोकार नरहेको प्रहरीले निष्कर्ष निकाल्यो। सो छलफलमा सिई कन्स्ट्रक्सन आफूले मल्लसँग लिएको बैना ब्याजसहित तिर्न राजी भयो। तर मल्लले त्यसपछि फेरि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ल्याण्डमार्क डेभलपर्सविरूद्ध उजुरी गरे।
सिडिओ कार्यालयले विवाद मिलाउन भन्दै फेरि प्रहरीकहाँ पठायो। दरबारमार्ग प्रहरी वृत्तले रूपज्योतिलाई फेरि छलफल गर्न बोलाएपछि उनी काठमाडौं जिल्ला अदालत गए। आफ्नो सरोकार बिनाको मुद्दामा प्रहरीले बोलाएर दु:ख दिएको भन्दै उनले काठमाडौं जिल्ला अदालतमा गई प्रहरीविरूद्ध आफूलाई नबोलाउन निषेधाज्ञा जारी गर्न माग गरे।
अदालतले निषेधाज्ञा जारी गरेन र भन्यो- यो विषय देवानी दायित्वको भएकाले सोहीअनुसार निरूपण गर्नु।
जिल्ला अदालतबाट सो फैसला आएपछि रूपज्योतिले बैनाबापत् फुयाँलले लिएको पैसा फिर्ता गरिदिन २०७५ मंसिर १३ गते अदालतमा लगेर १ करोड २६ लाख रुपैयाँ जम्मा गरिदिए। यसरी अदालतमा पैसा जम्मा भएको तीन दिनपछि मंसिर १६ गते मल्लले फेरि रूपज्योतिविरूद्ध ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिए।
प्रहरीले त्यो बेला जाहेरी लिएर ज्योति परिवारलाई पक्रन अदालतसँग अनुमति मागेपछि यो प्रकरणले नयाँ मोड लियो।
यो बेला प्रहरीले रूपज्योतिलाई ठगी मुद्दामा पक्रन देखाएको सक्रियता शंकास्पद छ।
काठमाडौं जिल्ला अदालतले पनि आफैंले तीन महिनाअघि देवानी दायित्वको विषय भन्दै दिएको फैसलाविपरित २०७५ कात्तिक २० गते पक्राउ गर्न अनुमति दियो।
जबकी फौजदारी अपराधमा मात्र अदालतले पक्राउको अनुमति दिन्छ। अदालतले पक्राउ पुर्जी जारी गरेपछि त्यसविरूद्ध रूपज्योति सर्वोच्च अदालत गए।
सर्वोच्च अदालतले मंसिर २५ गते उनको पक्राउ पुर्जी यथास्थितिमा राख्न भन्यो।
झन्डै एक वर्षपछि कात्तिक १८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले रूपज्योतिको रिट खारेज गरिदियो। ज्योतिको रिट खारेज भएपछि २१ गते रूपज्योति पक्राउ परे। अहिले उनलाई अनुसन्धान गर्न अदालतले आइतबारदेखि पाँचदिने म्याद दिएको छ।