जिल्ला सरकारी वकिल कार्यालय कोहलपुरले तरुण दलका जिल्ला सभापति सन्दीपजंग शाहलाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको छ।
गत कात्तिक १४ गते पक्राउ परेका शाहसहित चार जनालाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा सरकारी वकिल कार्यालयले बिहीबार अदालतमा मुद्दा दायर गरेको हो।
मुलुकी अपराध संहिता-२०७४ को हातहतियार तथा खरखजनासम्बन्धी उक्त कसूर स्थापित हुन आएमा हातहतियार जफत गरी पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
अभियोग-पत्रमा शाहसहित पक्राउ परेका माधव नेपाली प्रितम थापा र यमबहादुर बुढामगरलाई सो कसूरअनुसार अधिकतम सजाय माग गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ। मुद्दा दर्ता भए पनि बहस सुरू भने भइसकेको छैन।
इलाका प्रहरी कार्यालय कोहलपुरले चारै जनामाथि हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान गरेको थियो।
अनुसन्धानको प्रस्तावित राय बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको थियो।
सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेपछि तरुण दल आन्दोलित छ। त्यसैको विरोधमा तरुण दलले शुक्रबार बाँके जिल्ला बन्द गराएको छ। शाहलाई प्रहरीले फसाउन खोजेको र त्यो हतियार प्रहरी आफैंले राखेको दाबी तरुण दलको छ। तर, प्रहरीले भने निष्पक्ष ढंगले अनुसन्धान गर्दा बरामद हतियार शाहकै भएको देखिएको बताएको छ।
‘हाम्रो अनुसन्धानबाट बरामद हतियार प्रहरीले राखेको भन्ने कतैबाट देखिएन। शाह र उनका साथीहरू सवार गाडीबाटै बरामद भएको प्रमाणित भएकाले सोही अनुसार कसूरदार ठहर गरी प्रस्तावित राय बुझाइएको हो,’ बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले भने। कात्तिक १४ गते इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्जबाट पेस्तोलसहित छ जनालाई पक्राउ गरेको थियो।
प्रहरीले तरुण दल नेपालगन्जका सभापति सन्दीपजंग शाहसहितलाई पक्राउ गरेको थियो।
प्रहरीले नमस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको बा१८च ४२११को कार चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाइराखेको मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोलसहित शाहसहितलाई पक्राउ गरेको थियो।
उक्त पेस्तोल शाहकै गाडीबाट बरामद भएको प्रहरीको दाबी छ।
यी पनि :
तरूण दल नेतालाई डिएसपीको फोन- तेरो र मेरो वार भयो भाइ...तिघ्रा छेडिदिन्छु
पेस्तोलसहित पक्राउ परेका कार्यकर्ता छुटाउन तरुण दलद्वारा नेपालगन्ज बन्द