नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाग्लुङले बागी उठेका शेरमान घर्तीको चुनाव चिन्ह टोपीमा भोट मागेपछि दुई कायकर्तालाई कारबाही गरेको छ।
गत आइतबार नेकपाले बाग्लुङ २ को प्रदेश सभा (ख) मा बागी उम्मेदवारी दिएका शेरमान घर्तीलाई हेलिकप्टरबाट सदरमुकाम पुर्याएको थियो।
समय सकिएकाले औपचारिक रूपमा उम्मेदवारी फिर्ता गराउन नपाए पनि उनले राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीका लागि भोट माग्ने बताएका थिए।
नेकपाले बाग्लुङ क्षेत्र राष्ट्रिय जनमोर्चालाई छोड्ने निर्णय गरेको थियो। घर्तीले शाहीलाई सघाउने बताए पनि उनको उम्मेदवारी फिर्ता नभएकाले निर्वाचन कार्यालयले घर्तीको चुनाव चिन्ह टोपी तोकेको थियो।
नेकपाका दुई कार्यकर्ता तुलसीराम अर्याल र दधिराज अर्यालले शेरमानलाई नै भोट माग्दै हिँडेपछि शुक्रबार उनीहरूलाई कारबाही गरेको हो। तुलसीराम अर्याललाई पार्टी सदस्यबाट निलम्बन गरिएको छ भने भने दधिराम अर्याललाई पार्टी सदस्य नै नरहने गरी निष्काशन गरेको नेकपा बाग्लुङले जनाएको छ।