प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका नवनियुक्त राष्ट्रपति गोतबाया राजपाक्षेलाई बधाई दिएका छन्।
आइतबार साँझ ट्विट गर्दै प्रधानमन्त्री ओलीले राजापाक्षेलाई बधाई दिँदै दुई देशको ऐतिहासिक बहुपक्षीय सम्बन्धलाई अझ मजबुद् बनाउन राजापाक्षेसँग मिलेर काम गर्न आतुर रहेको बताएका छन्।
यसअघि शनिबार भएको राष्ट्रपति निर्वाचन पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ गोतबाया राष्ट्रपति निर्वाचित भएका थिए। राजापाक्षेले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासालाई हराएका हुन्।
सजिथले हार स्वीकार गर्दै राजपाक्षेलाई बधाई दिएका छन्। गोतबाया पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन्। राजापाक्षेको सरकारमा गोतबाया रक्षा सचिव थिए। सात महिनाअघि भएको २५९ जनाको ज्यान जाने गरी भएको इस्टर आक्रमणपछि श्रीलंकामा १५ वर्षयताकै आर्थिक मन्दी भएको छ।
यही बीचमा भएको चुनावमा मतदाताले विपक्षी दलका ७० वर्षीय उम्मेदवार राजापाक्षेलाई चुनेका हुन्। गोतबायाका दाजु महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति भएका थिए। उनले तमिल विद्रोही समूह लिट्टेलाई छिन्नभिन्न बनाएका थिए।