भक्तपुर क्षेत्र नम्बर १ प्रदेशसभा क्षेत्र (क) बाट उपनिर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार बनेका कृष्णलाल भँडेललाई मातृशोक परेको छ।
मध्यपुर ठिमी अस्पतालमा उपचार गराइरहेकी आमा सेतीमायाको ८४ वर्षको उमेरमा आइतबार निधन भएपछि चुनावी घरदैलो छाडेर भँडेल किरिया बसेका छन्।
उपनिर्वाचन आउन १२ दिन बाँकी छ। उम्मेदवार नै किरिया बस्नुपरेपछि कांग्रेस भक्तपुरले आइतबार प्रचारप्रसारका कार्यक्रम स्थगित गरेको थियो।
चुनावी प्रचारका लागि केन्द्रीय सदस्य गगन थापालाई बोलाइएको कार्यक्रम पछि गर्ने गरी स्थगित भएको भक्तपुर कांग्रेसले जनाएको छ।
भक्तपुर कांग्रेस सभापति दुल्लभ थापाले दिएको जानकारीअनुसार सोमबारदेखि चुनावी प्रचारका कार्यक्रम सुरू भइसकेको छ।
‘उम्मेदवार कृष्णलाल भँडेललाई मातृ शोक परेको कुरा खुलाएर पर्चा बनाएका छौं,’ सभापति थापाले सेतोपाटीसँग भने, ‘दुई/चार दिन उम्मेदवार घरदैलोमा सहभागी हुन सक्नु हुन्न।’
केही दिनपछि उम्मेदवार भँडेल चुनावी प्रचारका लागि निस्कने थापाले बताए।
‘पूरै १३ दिन नै किरिया बस्नु हुँदैन,’ उनले भने, ‘केही दिनमा घरदैलोमा निस्कनुहुन्छ। तर उहाँ घरदैलो जान नसक्ने अवस्थाबारे पार्टीका साथीहरूले सबैलाई जानकारी गराउनुहुन्छ।’
चुनावी प्रचारका लागि केन्द्रीय नेताहरू घरदैलोमा पुर्याउने काम भइरहेको उनले जानकारी दिए।
यसअघि प्रवक्ता विश्वप्रकाश शर्मा चुनावी सभामा गइसकेका छन्। भँडेललाई मातृशोक परेकोमा सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका थिए।